फिफा जसरी पनि मेसीलाई विश्वकपमा टिकाइराख्न चाहन्थ्यो, हामीमाथि अन्याय गरेर त्यही गर्यो : प्रशिक्षक हसन
एजेन्सी : खेल सकिन १२ मिनेट मात्र बाँकी रहँदा इजिप्ट विश्वकप इतिहासकै आफ्नो सबैभन्दा ठूलो नतिजा नजिक पुगेको थियो। एटलान्टा स्टेडियममा भएको खेलमा इजिप्टले साविक विश्व विजेता अर्जेन्टिनाविरुद्ध २-० को अग्रता बनाएको थियो।
इजिप्ट पहिलो पटक क्वाटरफाइनलमा पुग्ने तयारीमा देखिन्थ्यो। तर, खेलको अन्तिम समयमा परिस्थिति तीव्र गतिमा परिवर्तन भयो।
खेलको ७९औं मिनेटमा अर्जेन्टिनाका क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तरलाई २-१ मा झारे।
त्यसको चार मिनेटपछि कप्तान लियोनेल मेस्सीले गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्याए। खेलको थप गरिएको समय (इन्जुरी टाइम) को दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले हेडिङमार्फत गोल गर्दै अर्जेन्टिनालाई ३-२ को जित दिलाए।
भीएआरको निर्णय र इजिप्टको असन्तुष्टि
इजिप्ट १-० ले अघि रहेको अवस्थामा मोस्टाफा जिकोले गोल गरेका थिए।
तर, खेलको सुरुवातमा मिडफिल्डर मारवान अतियाले लिसान्ड्रो मार्टिनेजलाई सामान्य फाउल गरेको भन्दै भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले उक्त गोललाई रद्द गरिदियो।
यसैगरी, अर्जेन्टिनाले विजयी गोल गर्नुभन्दा केही सेकेन्डअघि अर्जेन्टिनाको पेनाल्टी क्षेत्रभित्र मोहम्मद सलाहलाई फाउल गरिएको भन्दै इजिप्टका खेलाडीहरूले पेनाल्टीको माग गरेका थिए।

तर रेफ्रीले खेल जारी राखे र सोही काउन्टर अट्याकमा अर्जेन्टिनाले विजयी गोल गर्यो।
खेल सकिएपछि इजिप्टका धेरै खेलाडीहरू मैदानमै निराश भएर ढले।
हामीमाथि अन्याय भयो- प्रशिक्षक हसन
खेलपछि मिडियासँग कुरा गर्दै इजिप्टका प्रशिक्षक होसाम हसनले आफ्नो टोलीमाथि अन्याय भएको बताए।
उनले भने, ‘मैदानभित्र र बाहिर धेरै कुराहरूमा प्रश्न उठाउन सकिन्छ। सायद उनीहरू (फिफा र रेफ्री) विश्व विजेता अर्जेन्टिना र मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न चाहन्थे। हामीले खेलमा निष्पक्षता पाएनौँ।’
यस खेलमा पेनाल्टी बचाउ, रेड कार्ड, रद्द गरिएको गोल र रोमाञ्चक पुनरागमन जस्ता धेरै नाटकीय मोडहरू देखिए। इजिप्टका गोलकिपर मोस्टाफा शोबेरले मेस्सीको पेनाल्टी उत्कृष्ट तरिकाले बचाएका थिए।
खेल विश्लेषकहरूका अनुसार, यस विश्वकपमा सामान्य शारीरिक सम्पर्कलाई फाउल नदिने फिफाको निर्देशन रहेको छ।
अतियाले मार्टिनेजको जर्सी हल्का तानेको र खुट्टामा टेकेको देखिए पनि भीएआरले यसलाई रद्द गर्नु यस प्रतियोगिताको अन्य खेलको तुलनामा कडा निर्णय मानिएको छ।
अर्कोतर्फ, सलाहलाई बक्सभित्र लडाइएको घटनामा भीएआरले हस्तक्षेप नगर्नुको कारण पेनाल्टीका लागि फाउलको मापदण्ड अलि कडा हुने भएकाले हुन सक्ने विश्लेषण गरिएको छ।
मोहम्मद सलाहको भविष्य
यस विश्वकपमा सलाहले न्युजिल्यान्डविरुद्धको खेलमा मात्र एक गोल गर्न सके। अर्जेन्टिनाविरुद्धको खेलमा उनी खासै प्रभावकारी देखिन सकेनन्।
सन् २०३० को विश्वकप हुँदा सलाह ३८ वर्षका हुनेछन्। यस्तोमा उनले अर्को विश्वकप खेल्ने वा नखेल्ने भन्ने स्पष्ट छैन।
इजिप्ट प्रतियोगिताबाट बाहिरिएसँगै अब मोरक्को मात्र यस विश्वकपमा बाँकी रहेको एक मात्र अफ्रिकी टोली हो। मोरक्कोले क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ।
खेल हारिए पनि समर्थकहरू भने आफ्ना खेलाडीहरूको प्रदर्शनबाट सन्तुष्ट देखिन्छन्।
पहिलो पटक विश्वकपको खेल जित्दै बलियो टोली अर्जेन्टिनालाई कडा टक्कर दिनु इजिप्टका लागि ठूलो उपलब्धि भएको समर्थकहरूको भनाइ छ।
इजिप्टको यो प्रदर्शनले आउने दिनमा टोली अझ बलियो बन्ने विश्वास जगाएको छ।
असार २४, २०८३ बुधबार ०७:३१:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।