विश्वकपमा सम्झनायोग्य र उत्कृष्ट पुनरागमन गर्दै इजिप्टलाई हरायो अर्जेन्टिनाले
काठमाडौं : २-० ले पछि परेको खेलमा विश्वकपको इतिहासमै सम्झनायोग्य र उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गरेर क्वाटरफाइनलमा प्रवेश गरेको छ। गत विश्वकपको विजेता अर्जेन्टिना २-० ले पछि पर्दै टप १६ बाटै बाहिरिने सँघारमा पुगिसकेको थियो, तर खेलको अन्तिम समयमा भएका तीन गोलले उसलाई क्वार्टरफाइनलमा पुर्यायो।
अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा पेनाल्टी मिस गर्दै अर्जेन्टिना पछि परेको थियो। खेलको ७८ मिनेटसम्म पनि अर्जेन्टिना २-० ले पछि थियो। तर अन्तिम ११ मिनेटमा उसले तीन गोल फर्काएर गुमाइसकेको नतिजा आफ्नो पक्षमा पार्यो।
खेलको ७९ मिनेटमा कप्तान लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरो हेडर गोल गरेर खाता खोलेका थिए। लगभग पाँच मिनेटपछि मेसीले गोल गर्दै अंक तालिका बराबरीमा पूर्याए। दोस्रो हाफको इन्जुरी समयमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अंकमा पूर्याएर जित निकाले।
नतिजा घोषणापछि मैदानमा इजिप्ट र अर्जेन्टिना दुबै टिमका खेलाडी रोइरहेका थिए। तर एक टिमको आँशुमा पीडा मिसिएको थियो भने अर्को टिमको आँशुमा खुसी। पेनाल्टी मिस गरेर निराश बनाएका मेसीले खेलमा एक गोल गरेर यो विश्वकपमा गोल संख्या ८ पूर्याए। खेलको नतिजा आफ्नो पक्षमा आएपछि मेसी मैदानमा रोइरहेका थिए।

असार २४, २०८३ बुधबार ००:३८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।