मेस्सीको उपाधि रक्षा योजनामा सलाहको चुनौती!

मेस्सीको उपाधि रक्षा योजनामा सलाहको चुनौती!

एजेन्सी : विश्वकपको क्वार्टरफाइनलमा पुग्ने दौडमा आज साविक विजेता अर्जेन्टिना र इजिप्ट भिड्दैछन्। एटलान्टामा हुने यस रोमाञ्चक खेलमा फुटबल इतिहासकै दुई महान् खेलाडी-लियोनेल मेस्सी र मोहम्मद सलाह आमने-सामने हुनेछन्।

नेपाली समय अनुसार आज राति हुने यस खेललाई यी दुई लेजेन्डको करियरकै एउटा महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ। ३९ वर्षीय मेस्सी र ३४ वर्षीय सलाह दुवै आफ्नो खेल जीवनको उत्तरार्धमा छन्। मेस्सीले यो आफ्नो अन्तिम विश्वकप हुन सक्ने संकेत गरिसकेका छन् भने सलाहले अझै सन् २०३० को विश्वकप खेल्ने आशा गरिएको छ।

सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना यस पटक लगातार दोस्रो पटक उपाधि जितेर 'ब्याक-टु-ब्याक' इतिहास रच्ने दाउमा छ। विश्वकपमा मेस्सीको यो अन्तिम यात्रा भएकाले पनि टोली अर्को ट्रफी उचालेर उनलाई सुखद बिदाइ दिन चाहन्छ।

३९ वर्षको उमेरमा पनि मेस्सी २५ वर्षको युवा खेलाडी जस्तै मैदानमा चम्किरहेका छन्। जारी संस्करणमा मात्रै उनले ७ गोल गरिसकेका छन्। यससँगै उनले विश्वकपको इतिहासमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत आफ्नो नाममा लेखाइसकेका छन्। लगातार आठ विश्वकप खेलमा गोल गर्ने दुर्लभ कीर्तिमान बनाएका मेस्सी यो संस्करणमा पनि उत्कृष्ट लयमा छन्।

अर्जेन्टिनी खेल पत्रकारहरूले टोली पुनः 'मेस्सी-निर्भर' बनेको भन्दै आलोचना समेत गर्न थालेका छन्। प्रशिक्षक लियोनेल स्कालोनीले यसअघि मेस्सी बिना पनि चल्न सक्ने सन्तुलित टोली निर्माण गरेको श्रेय पाएका थिए।

तर, यस विश्वकपमा अर्जेन्टिनाले गरेका ११ गोलमध्ये ७ गोल मेस्सी एक्लैको नाममा छ भने बाँकीमा पनि उनकै मुख्य भूमिका छ। लाउतारो मार्टिनेज र जुलियन अल्भारेज जस्ता स्टार स्ट्राइकरहरू यस पटक मेस्सीका लागि सहयोगी भूमिकामा मात्र सीमित देखिएका छन्। 

अर्कोतर्फ, मोहम्मद सलाहका लागि यो विश्वकप आफैँमा विशेष बनेको छ। इजिप्टका लागि तेस्रो विश्वकप खेलिरहेका उनले पहिलो पटक आफ्नो टोलीलाई नकआउट चरणसम्म पुर्याएका छन्। इजिप्ट विश्वकपको अन्तिम १६ मा पुगेको यो नै पहिलो पटक हो। अस्ट्रेलियाविरुद्धको अन्तिम ३२ को खेलमा पेनाल्टी सुटआउटमा 'पानेन्का' शैलीमा गोल गर्दै सलाहले इजिप्टलाई यो ऐतिहासिक जित दिलाएका थिए।

यसअघि अफ्रिका कप अफ नेसन्सका दुईवटा फाइनल (२०१७ र २०२१) मा ब्यहोरेको पराजयको पीडा बिर्साउँदै सलाहले यस पटक देशकै सबैभन्दा ठूलो फुटबल उत्सवको नेतृत्व गरिरहेका छन्।

इजिप्टका समर्थकहरूका लागि सलाह केवल एक फुटबल स्टार मात्र नभएर आशा र प्रेरणाका प्रतीक समेत हुन्। इजिप्टको एउटा सानो गाउँ 'नाग्रिग' बाट विश्वको सबैभन्दा ठूलो फुटबल मञ्चसम्मको उनको यात्राले हरेक इजिप्टियनलाई गर्व महसुस गराउँछ। सलाहको विनम्रता, शान्त स्वभाव र सम्मानजनक छविले उनलाई अझ विशेष बनाएको छ। जब सलाह मैदानमा उत्रन्छन्, तब सिङ्गो इजिप्ट उनको हुटिङमा हुन्छ। 

अस्ट्रेलियामाथिको ऐतिहासिक जितपछि इजिप्टभर उत्सवको माहोल बनेको थियो। मैदानमा सलाह हुँदा सम्पूर्ण देश एकताबद्ध भएको अनुभूति हुने र उनको नेतृत्वले टोलीमा आत्मविश्वास थप्ने काम गरेको उनका समर्थकहरू बताउँछन्।

आजको खेलमा एकातिर छ इतिहास दोहोर्याउने दाउमा रहेको साविक विजेता अर्जेन्टिना र अर्कोतिर पहिलो पटक नयाँ इतिहास रचिरहेको इजिप्ट।

मेस्सी र सलाहको यो भिडन्तलाई केवल दुई टोलीबीचको प्रतिस्पर्धा मात्र नभएर दुई महान् फुटबल संस्कृति र राष्ट्रिय भावनाबीचको महासंग्रामका रुपमा हेरीएको छ।

जहाँ मेस्सी आफ्नो विश्वकप यात्राको सुखद अन्तिम अध्याय लेख्न चाहन्छन्, त्यहाँ सलाह इजिप्टको इतिहास रच्ने प्रयासमा मैदान उत्रँदैछन्।

असार २३, २०८३ मंगलबार १८:५१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।