बालोगुन प्रकरणको असर : जारेल क्वान्साको रेड कार्डविरुद्ध अपील गर्ने तयारीमा इंग्ल्यान्ड
एजेन्सी : विश्वकप फुटबलमा मेक्सिकोविरुद्धको खेलमा रातो कार्ड पाएका डिफेन्डर जारेल क्वान्साको प्रतिबन्धविरुद्ध इंग्ल्यान्डको फुटबल एशोसिएशन (एफए)ले अपील गर्ने तयारी गरेको छ।
आइतबार मेक्सिकोविरुद्ध भएको खेलको ५४औं मिनेटमा मेक्सिकन खेलाडी जेसस गालार्डोमाथि खराब ट्याकल गरेपछि बायर्न लेभरकुसेनका डिफेन्डर क्वान्सालाई मैदानबाट बाहिर निकालिएको थियो।
उक्त खेलमा इंग्ल्यान्ड ३-२ ले विजयी भएको थियो। क्वान्साको उक्त फाउललाई 'गम्भीर खराब खेल' (सिरियस फाउल प्ले) को श्रेणीमा राखिएकाले उनले दुई खेलको प्रतिबन्ध भोग्नुपर्ने सम्भावना छ।
बालोगुन प्रकरणले दियो बल
सामान्यतया विश्वकपका खेलहरूमा रातो कार्डविरुद्ध अपील गर्ने व्यवस्था हुँदैन।
तर, अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको रातो कार्डबापतको प्रतिबन्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि फिफाले फुकुवा गरेपछि इंग्ल्यान्ड एफएले पनि आफ्ना खेलाडीका लागि कानुनी बाटो खोज्न थालेको हो।
बोस्निया एन्ड हर्जगोभिना विरुद्धको खेलमा रातो कार्ड पाएका बलोगनमाथि लाग्ने एक खेलको प्रतिबन्धलाई फिफाले अनौठो निर्णय गर्दै १२ महिनाका लागि निलम्बन गरिदिएको थियो।
यस निर्णयको युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफए, बेल्जियम र इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले समेत कडा आलोचना गरेका थिए।
फिफाले आफ्नै नियमको ‘धारा २७’ प्रयोग गरी बालोगुनको प्रतिबन्ध रोकेको थियो, जुन नियम विश्वकपको इतिहासमा यसअघि कहिल्यै प्रयोग गरिएको थिएन। यस नियमले फिफालाई कुनै पनि मापदण्ड पूरा नगरी आफ्नो अनुकूल निर्णय गर्ने अधिकार दिन्छ।
फिफाको यस कदमपछि अन्य टोलीहरूले पनि कार्डविरुद्ध अपील गर्न सुरु गरेका छन्। फ्रान्सले पनि पाराग्वेविरुद्धको खेलमा माइकल ओलिसले पाएको पहेँलो कार्डविरुद्ध अपील गरिसकेको सञ्चारमाध्यमहरूले जनाएका छन्।
इंग्ल्यान्डको राइट-ब्याकमा बढ्दो चिन्ता
क्वान्सामाथिको सम्भावित प्रतिबन्धले इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलका लागि ठुलो टाउको दुखाइ बनेको छ। इंग्ल्यान्ड हाल दायाँ डिफेन्डरको अभाव झेलिरहेको छ।
यस विश्वकपमा टुचेलले रिस जेम्स, जेद स्पेन्स, एज्री कोन्सा, जोन स्टोन्स, क्वान्सा र मिडफिल्डर डेक्लान राइसलाई समेत दायाँ डिफेन्डरको भूमिकामा मैदान उतारेका छन्।
टोलीका पहिलो रोजाइका राइट-ब्याक रिस जेम्स घानाविरुद्धको दोस्रो समूह चरणको खेलमा ह्यामस्ट्रिङको चोट लागेपछि मैदान बाहिर छन्। उनी चोटकै कारण पानामा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र मेक्सिकोविरुद्धको खेलमा अनुपस्थित रहे।
अर्का डिफेन्डर क्वान्सा पनि पानामाविरुद्धको खेलमा घाइते भएका थिए, तर मेक्सिकोविरुद्धको खेलमा उनी फिट भएर मैदान उत्रिएका थिए।
शनिबार मियामीमा हुने क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले नर्वेको सामना गर्दै छ। यस्तो संवेदनशील खेलअघि क्वान्सा प्रतिबन्धमा परेमा इंग्ल्यान्डको रक्षापङ्क्ति थप कमजोर हुनेछ। त्यसैले एफए जसरी पनि उनको प्रतिबन्ध फुकुवा गराउने प्रयासमा लागेको हो।
असार २३, २०८३ मंगलबार १०:३९:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।