ट्रम्पले बालोगुनको प्रतिबन्ध त फुकाए तर अमेरिकालाई जिताउन सकेनन्, बेल्जियम ४-१ ले विजयी हुँदै क्वार्टरफाइनलमा

ट्रम्पले बालोगुनको प्रतिबन्ध त फुकाए तर अमेरिकालाई जिताउन सकेनन्, बेल्जियम ४-१ ले विजयी हुँदै क्वार्टरफाइनलमा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष पहलमा फोलारिन बालोगुनको रेड कार्डबापतको प्रतिबन्ध फुकुवा भए पनि त्यसले आयोजक अमेरिकालाई पराजयबाट जोगाउन सकेन।

सिएटल स्टेडियममा भएको अन्तिम १६ को खेलमा बेल्जियमले अमेरिकालाई ४-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

यस जितसँगै बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि आगामी शुक्रबार लस एन्जलसमा स्पेनको सामना गर्नेछ।

पहिलो हाफमै बेल्जियमको दबदबा
खेलको सुरुवाती क्षणदेखि नै बेल्जियमले अमेरिकामाथि दबाब बनाएको थियो। खेलको नवौं मिनेटमै चार्ल्स डे केटेलारेले निकोलस रास्किनको क्रसलाई पोस्टको दिशा दिँदै बेल्जियमलाई सुरुवाती अग्रता दिलाए।

खेलको ३१औं मिनेटमा अमेरिकाले बराबरी गोल फर्कायो। मलिक टिलम्यानले प्रहार गरेको फ्रि-किक बेल्जियमका डिफेन्डर हान्स बालोगुनलाई लाग्दै डिफ्लेक्ट भएर गोलपोस्ट भित्र छिरेको थियो।

तर, अमेरिकाको यो खुसी दुई मिनेटभन्दा बढी टिक्न सकेन। ३३औं मिनेटमा लियान्द्रो ट्रोसार्डको उत्कृष्ट क्रसमा डे केटेलारेले सानदार हेडर गोल गर्दै बेल्जियमलाई पुनः २-१ को अग्रता दिलाए।

दोस्रो हाफमा लुकाकुको कीर्तिमान
दोस्रो हाफमा अमेरिकी गोलकिपर म्याट फ्रिजको ठुलो गल्तीका कारण खेल पूर्ण रूपमा बेल्जियमको पक्षमा गयो।

डि बक्स बाहिर बल क्लियर गर्न हिचकिचाएका फ्रिजलाई डे केटेलारेले ट्याकल गरेपछि खाली बललाई हान्स वानाकेनले डि बक्स बाहिरबाटै पोस्टको दिशा दिँदै बेल्जियमलाई ३-१ ले अघि बढाए।

खेलको इन्जुरी समयमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुले कठिन कोणबाट प्रहार गर्दै चौथो गोल गरे।

यस गोलसँगै लुकाकु विश्वकपको इतिहासमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेर एउटै संस्करणमा ३ गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

ट्रम्पको हस्तक्षेप र बलोगनको खल्लो प्रदर्शन
यस खेलअघि सबैभन्दा बढी चर्चा अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको प्रतिबन्ध फुकुवाको विषयलाई लिएर भएको थियो।

बोस्निया एन्ड हर्जगोभिना विरुद्धको खेलमा सिधा रेड कार्ड पाएका बालोगुनमाथि फिफाले नियमविपरीत प्रतिबन्ध हटाएपछि तीव्र आलोचना भएको थियो।

राष्ट्रपति ट्रम्प आफैँले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर प्रतिबन्धमाथि पुनर्विचार गर्न आग्रह गरेको स्वीकार गरेका थिए।

तर, मैदानमा बालोगुनको उपस्थिति प्रभावहीन रह्यो। अमेरिकी टोलीको आक्रमण सुस्त हुँदा उनले खेलभरि एउटा मात्र राम्रो अवसर पाए, जसलाई बेल्जियमका गोलकिपर थिबौ कोर्टुवाले सहजै विफल तुल्याए।

मुख्य खेलाडीबिना नै बेल्जियम बलियो
बेल्जियमका मुख्य खेलाडी केभिन डि ब्रुइनेलाई प्रशिक्षक रुडी गार्सियाले यस खेलमा बेन्चमै राखेका थिए।

डि ब्रुइने बिना नै उत्रिएको बेल्जियमका लागि २५ वर्षीय डे केटेलारेले उत्कृष्ट प्रदर्शन गरे। उनी विश्वकपको एउटै खेलमा २ गोल र १ असिस्ट गर्दै तीन गोलमा प्रत्यक्ष योगदान दिने पहिलो बेल्जियमका खेलाडी बनेका छन्।

पराजयसँगै अमेरिका यस विश्वकपबाट बाहिरिने तेस्रो तथा अन्तिम सह-आयोजक राष्ट्र बनेको छ। यसअघि क्यानडा र मेक्सिको पनि नकआउट चरणबाटै बाहिरिइसकेका छन्।

सन् २००२ पछि पहिलो पटक क्वार्टरफाइनल पुग्ने लक्ष्य राखेको अमेरिका पुनः अन्तिम १६ को बाधक पार गर्न असफल रह्यो। अमेरिका आफ्नो इतिहासमा अन्तिम १६ मा पुगेका ७ मध्ये ६ पटक यही चरणबाट बाहिरिएको छ।

असार २३, २०८३ मंगलबार ०८:५८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।