रोनाल्डोको आँसुसँगै पोर्चुगलको विश्वकप यात्रा समाप्त, प्रशिक्षक मार्टिनेजको राजीनामा
एजेन्सी : विश्व फुटबलकै एक महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप उपाधि जित्ने सपना अधुरै रहन पुगेको छ।
सन् २०२६ को विश्वकप अन्तर्गत अन्तिम १६ को खेलमा पोर्चुगल छिमेकी राष्ट्र स्पेनसँग १-० गोल अन्तरले पराजित भएसँगै ४१ वर्षीय रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य भएको हो।
अमेरिकाको डलास स्टेडियममा भएको यस खेलमा मिकेल मेरिनोले अतिरिक्त समयमा गरेको गोल नै निर्णायक बन्यो।
रोनाल्डोको आँसु र अधुरो सपना
खेलको अन्तिम सिट्ठी बजेलगत्तै पाँच पटकका बालोन डी'ओर विजेता रोनाल्डो मैदानमै भावुक बन्दै आँसु बगाइरहेका देखिए।
४१ वर्षको उमेरमा आफ्नो छैटौं तथा अन्तिम विश्वकप खेलिरहेका रोनाल्डोले खेलअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरिसकेका थिए।
आफ्नो खेल जीवनमा क्लब र देशका लागि कीर्तिमानी ९७६ गोल गरिसकेका र सन् २०१६ मा पोर्चुगललाई युरोपियन च्याम्पियन बनाएका रोनाल्डोका लागि विश्वकप ट्रफी सधैँ टाढाको विषय बन्यो।
सन् २००६ मा पोर्चुगल सेमिफाइनल पुग्दा नै उनी यस उपाधिको सबैभन्दा नजिक पुगेका थिए।
यस विश्वकपमा रोनाल्डोले क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत आफ्नो विश्वकप करियरकै पहिलो नकआउट गोल समेत गरेका थिए। तर, स्पेनविरुद्धको खेलमा उनको जादु चल्न सकेन।
प्रशिक्षक र रोनाल्डोमाथिको आलोचना
पोर्चुगलको यस बहिर्गमनसँगै प्रशिक्षक रोबर्टो मार्टिनेज र रोनाल्डोको आलोचना सुरु भएको छ।
बीबीसीका फुटबल विश्लेषक तथा पूर्व इंग्ल्याण्ड स्ट्राइकर क्रिस सटनले प्रशिक्षक मार्टिनेजले रोनाल्डोलाई आवश्यकताभन्दा बढी प्राथमिकता दिएको भन्दै कडा आलोचना गरे। उनले युवा र प्रतिभावान खेलाडी गोन्सालो रामोसलाई मैदानमा नउतारेकोमा प्रश्न उठाए।
सटनले भने, ‘रोनाल्डोले मैदानमा उल्लेख्य योगदान दिन सकेनन्। प्रशिक्षकले आफ्नो स्टार खेलाडीको प्रभावमा परेर टिमको आवश्यकतालाई बेवास्ता गरे। पोर्चुगल बाहिरिनुको मुख्य जिम्मेवार प्रशिक्षक मार्टिनेज हुन्।’
तथ्याङ्कअनुसार स्पेनविरुद्धको ९० मिनेटको खेलमा रोनाल्डोले मात्र १९ पटक बल छुन सकेका थिए। यस विश्वकपमा उनले कुल १८ पटक गोलको प्रयासगरे पनि आफ्ना सहकर्मीका लागि केवल एक अवसर मात्र सिर्जना गर्न सके।
प्रशिक्षक मार्टिनेजको बहिर्गमन
खेल सकिएलगत्तै पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो पद छाड्ने घोषणा गरेका छन्।
उनले भने, ‘मेरो उद्देश्य पोर्चुगललाई विश्वकप जिताउनु थियो। त्यो पूरा हुन नसकेपछि अब पदमा रहिरहनुको अर्थ छैन। मेरो सम्झौता आजैबाट समाप्त भएको छ।’
यद्यपि, उनले रोनाल्डोको प्रशंसा गर्दै उनलाई फुटबलको एक महान् आदर्श र उत्कृष्ट खेलाडीको संज्ञा दिए।
स्पेनको ऐतिहासिक कीर्तिमान र बलियो डिफेन्स
अर्कोतर्फ, स्पेनले यो जितसँगै ऐतिहासिक सफलता हासिल गरेको छ। स्पेन विश्वकपको इतिहासमा लगातार ६ खेलमा कुनै पनि गोल नखाएर ‘क्लिन सिट’ राख्ने पहिलो टोली बनेको छ।
स्पेनिस गोलकिपर उनाई सिमोनले विश्वकपमा लगातार ६०९ मिनेटसम्म गोल नखाई इटालीका वाल्टर जेङ्गाको ५१७ मिनेटको कीर्तिमान भङ्ग गरेका छन्।
प्रशिक्षक लुइस डे ला फुएन्टेको नेतृत्वमा रहेको स्पेनिस टोलीले उत्कृष्ट रक्षापङ्क्ति प्रदर्शन गरिरहेको छ।
आयमेरिक लापोर्ट र पाउ कुबार्सीको डिफेन्स साझेदारी तथा मिडफिल्डमा रोड्रिको बलियो उपस्थितिले स्पेनलाई निकै सन्तुलित बनाएको छ।
खेलको निर्णायक क्षण
खेलको दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक र रक्षात्मक रह्यो।
खेल अतिरिक्त समयतर्फ धकेलिने सङ्केत देखिएका बेला, ९१औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका मिकेल मेरिनोले उत्कृष्ट गोल गर्दै स्पेनलाई जित दिलाए।
फेरान टोरेसको पासमा मेरिनोले बक्स भित्रबाट प्रहार गरेको बल पोर्चुगिज गोलकिपर डिएगो कोस्टालाई छलाउँदै जाली चुमेको थियो।
मेस्सी र रोनाल्डोको बहस
विश्व फुटबलमा लामो समयदेखि चल्दै आएको लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको ‘सर्वकालीन महान् खेलाडी’को बहसलाई यस विश्वकपले फेरि नयाँ मोड दिएको छ।
मेस्सीले सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप दिलाइसकेका छन् भने रोनाल्डोको विश्वकप जित्ने सपना अधुरै समाप्त भएको छ।
रोनाल्डोका पूर्व सहकर्मी वेन रुनीले यसलाई फुटबलकै लागि एक भावुक क्षण भन्दै समयको बहावले सबैलाई भेट्ने टिप्पणी गरे।
उनले भने, ‘उनी एक प्रतिभावान खेलाडी हुन्। उनले फुटबल जगत्लाई जे दिए, त्यो विरलै देख्न पाइन्छ। तर समय सबैका लागि आउँछ, यो फुटबलका लागि एक दुःखद दिन हो।’
स्पेन अब क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ, जहाँ उसले आयोजक अमेरिका वा बेल्जियमको सामना गर्नेछ।
असार २३, २०८३ मंगलबार ०७:२१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।