एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पन्सर एक्स्ट्रीम इनर्जी ड्रिंक्स, तीन वर्षको सम्झौता

एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पन्सर एक्स्ट्रीम इनर्जी ड्रिंक्स, तीन वर्षको सम्झौता

काठमाडौं : इनर्जी ड्रिंक्स ब्रान्ड ‘एक्स्ट्रीम इनर्जी ड्रिंक्स’ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा सहभागी आठ फ्रेन्चाइज टोलीमध्ये ६ फ्रेन्चाइज टोलीको टाइटल स्पन्सर गर्ने सम्झौता गरेको छ।

नेपाली खेलकुदको व्यावसायिक इतिहासमा निजी क्षेत्रबाट भएको यो सम्भवतः सबैभन्दा ठूलो साझेदारी हो। सोमबार एक्स्ट्रीम इनर्जी ड्रिंक्सको उत्पादक कम्पनी एग्रो थाई फुड्स प्रालिले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग सम्झौता गरेको हो।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि सोमबार आयोजित विशेष कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि र एग्रो थाई फुड्स प्रालिकी बिजनेस हेड सोनिया राणाले सम्झौता पत्रमा हस्ताक्षर गरे।

तीन वर्ष मुख्य प्रायोजन 

सम्झौता पत्रमा उल्लेख भएअनुसार एक्स्ट्रीम इनर्जी ड्रिंक्स सम्बन्धित टोलीको मुख्य प्रायोजकका रूपमा तीन वर्षसम्म रहनेछ। सम्झौताअनुसार टोलीहरूको प्लेइङ जर्सीको अगाडिको मुख्य स्थानमा एक्स्ट्रीम इनर्जी ड्रिंक्सको लोगो रहनेछ।

कार्यक्रमका मुख्य अतिथि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एक्स्ट्रीम इनर्जी ड्रिंक्स र एनपीएल फ्रेन्चाइजहरूबीचको सहकार्य नेपाली क्रिकेटको दिगो विकास, खेलाडीहरूको भविष्य उज्ज्वल बनाउन तथा समग्र क्रिकेट संरचनालाई सुदृढ बनाउन महत्त्वपूर्ण कदम भएको बताए।

एग्रो थाई फुड्स प्रालिका नेशनल सेल्स म्यानेजर कृष्ण दाहालले एनपीएलका ६ वटा टोलीसँग टाइटल स्पन्सरको रूपमा सहकार्य गर्न पाउनु गर्वको विषय भएको र यो साझेदारी केवल ब्रान्ड प्रचारका लागि मात्र नभएर नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि रहेको बताए।

एक्स्ट्रीम इनर्जी ड्रिंक्सले विगत केही वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा निरन्तर लगानी गर्दै आएको छ। कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक हुनुका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथन तथा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सक्रिय सहकार्य गर्दै आएको छ।

असार २२, २०८३ सोमबार २०:५८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।