पेनाल्टीअघिको नोकझोक : गोलकिपरले भने- ‘म रोक्छु’, गोल गरेपछि नेयमारको जवाफ- ‘मलाई होइन ल!’

पेनाल्टीअघिको नोकझोक : गोलकिपरले भने- ‘म रोक्छु’, गोल गरेपछि नेयमारको जवाफ- ‘मलाई होइन ल!’

एजेन्सी : फिफा विश्वकपको राउन्ड अफ १६ को खेलमा ब्राजिल नर्वेसँग २-१ ले पराजित हुँदै बाहिरियो।

तर, उक्त खेलमा स्टार ब्राजिलियन फरवार्ड नेयमार र नर्वेका गोलरक्षक ओर्जन नाइलान्डबीच पेनाल्टी प्रहार गर्नुअघि र पछि भएको भनाभनको भिडियो भने सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

इन्जुरी समयमा ब्राजिलले पेनाल्टी पाएपछि नेयमार बल प्रहार गर्न अघि बढेका थिए।

त्यसअघि नै खेलको १२औं मिनेटमा ब्राजिलका ब्रुनो गुइमारेसको पेनाल्टी रोकेर उत्कृष्ट प्रदर्शन गरिसकेका नाइलान्डले नेयमारको ध्यान भंग गर्न ‘माइन्ड गेम’ खेल्ने प्रयास गरेका थिए।

भिडियोमा देखिएअनुसार, नाइलान्डले स्पेनिस भाषामा चिच्याउँदै नेयमारलाई भनेका थिए, ‘म तिम्रो प्रहार रोक्नेछु, म तिमीलाई रोक्नेछु।’

जवाफमा नेयमारले शान्त हुँदै सोधे, ‘तिमी पक्का छौ? कहाँ हानौँ भन? तिमीलाई कहाँ चाहिएको छ?’

त्यसपछि नेयमारले गोलरक्षकलाई झुक्याउँदै बललाई जाली चुमाए। गोल गरेपछि नेयमार नाइलान्डतर्फ फर्किएर मुस्कुराउँदै भने, ‘मलाई होइन! मलाई होइन!’

तर, नेयमारको यो गोल ब्राजिलका लागि सान्त्वना मात्र बन्न पुग्यो। अर्लिङ हालान्डले अन्तिम १० मिनेटभित्र दुई सानदार गोल गर्दै नर्वेलाई क्वार्टरफाइनलमा पुर्याइसकेका थिए।

खेल हार्ने निश्चित भइसकेको अवस्थामा पनि विपक्षी गोलरक्षकसँग भनाभन गरेर रमाएको भन्दै सामाजिक सञ्जालमा नेयमारको आलोचना भइरहेको छ।

एक समर्थकले लेखेका छन्, ‘नेयमार गोलरक्षकलाई गिज्याइरहेका छन्, तर अन्त्यमा हाँस्ने पालो गोलरक्षकको आयो जो अर्को चरणमा पुगेका छन्।’

अर्का समर्थकले आलोचना गर्दै भने, ‘समय सकिनै लाग्दा उनी खेललाई अघि बढाउनुको साटो गोलरक्षकसँग विवाद गर्दै थिए। एउटा सान्त्वना गोलमा यसरी खुसी मनाउनु दयनीय हो।’

सन् २०२३ यता चोटका कारण राष्ट्रिय टोलीबाट बाहिर रहेका नेयमारलाई प्रशिक्षक कार्लो एन्सेलोट्टीले मैदानमा उतार्ने ​​​​​​निर्णय गरेका थिए।

बल पोसेसनमा मात्र ३४ प्रतिशत पकड बनाएको ब्राजिलको सन् १९९० पछिकै यो सबैभन्दा खराब विश्वकप बहिर्गमन हो।

नर्वेले भने अब क्वार्टरफाइनलमा इङ्गल्याण्डको सामना गर्नेछ।

असार २२, २०८३ सोमबार १४:११:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।