इङ्गल्याण्डका लागि सबैभन्दा ठूलो खतरा बन्न सक्छन् ‘गोल मेसिन’ अर्लिङ हालान्ड
एजेन्सी : विश्वकपको अन्तिम-१६ को रोमाञ्चक खेलमा मेक्सिकोलाई ३-२ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको इङ्गल्याण्डका लागि अबको बाटो झन् कठिन देखिएको छ।
सेमिफाइनल प्रवेशका लागि इङ्गल्याण्डले अब नर्वेको सामना गर्नेछ, जहाँ उसका लागि सबैभन्दा ठूलो चुनौती र खतराका रूपमा ‘गोल मेसिन’ अर्लिङ हालान्ड उभिएका छन्।
ब्राजिलविरुद्धको खेलमा २-१ को ऐतिहासिक जित निकाल्दै नर्वेलाई पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुर्याउन हालान्डले दुई सनसनीपूर्ण गोल गरे।
यो प्रदर्शनले आगामी सोमबार हुने खेलमा इङ्गल्याण्डको रक्षापंक्ति (डिफेन्स) का लागि हालान्ड कति ठूलो ‘थ्रेट’ हुन् भन्ने स्पष्ट पारेको छ।

यसकारण हालान्डसँग डराउनुपर्छ इङ्गल्याण्ड?
हालान्ड धेरै बल नियन्त्रणमा राखेर खेल्ने खेलाडी होइनन्, उनी केवल अवसरको पर्खाइमा रहन्छन्। ब्राजिलविरुद्धको खेलमा उनले डि-बक्सभित्र केवल चार पटक बल छुने अवसर पाएका थिए, जसमध्ये दुईवटा प्रहारलाई उनले गोलमा परिणत गरिदिए।
इङ्गल्याण्डका पूर्वस्ट्राइकर इयान राइट भन्छन्- ‘हालान्डलाई गोल गर्न धेरै टच चाहिँदैन, आधा अवसर नै उनका लागि पर्याप्त हुन्छ।’
हालान्ड हाल ७ गोलसहित लियोनेल मेस्सी र किलियन एम्बाप्पेसँगै विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्।
उनले नर्वेका लागि खेलेका पछिल्ला १४ खेलमा लगातार गोल गर्दै कुल २७ गोल गरेका छन्। उनको यो अविश्वसनीय लय रोक्नु इङ्गल्याण्डका डिफेन्डरहरूका लागि फलामको चिउरा चपाउनु सरह हुनेछ।

मेक्सिकोविरुद्धको खेलमा इङ्गल्याण्डको डिफेन्स केही दबाबमा देखिएको थियो। त्यसमाथि मुख्य डिफेन्डर ज्यारेल क्वान्साले रातो कार्ड पाएका कारण उनले नर्वेविरुद्धको खेल गुमाउनेछन्।
क्वान्साको अनुपस्थितिमा हालान्डजस्ता शारीरिक रूपमा बलिया र तीव्र गतिका स्ट्राइकरलाई रोक्नु प्रशिक्षक थमस टुचेलका लागि मुख्य टाउको दुखाइ बन्नेछ।
हालान्ड आफैँले आफू अहिले करियरकै उत्कृष्ट लयमा रहेको बताएका छन्। म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्ने भएकाले उनले इङ्गल्याण्डका प्रायः सबै डिफेन्डरहरूको कमजोरी र खेल्ने शैलीलाई नजिकबाट बुझेका छन्।
ब्राजिलका डिफेन्डर ग्याब्रियलसँगको भिडन्तमा हालान्डले जसरी खेले, त्यसले इङ्गल्याण्डका डिफेन्डरहरूलाई सोच्न बाध्य बनाएको छ।

नर्वेले पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुगेर इतिहास रचिसकेको छ। हारिने डरभन्दा पनि केही गरेर देखाउने जोसका साथ मैदान उत्रने नर्वेली टोलीको मनोबल हालान्डकै कारण उच्च छ।
वेन रुनी भन्छन्, ‘हालान्डले पूरै नर्वेली टोलीमा विश्वास भरेका छन्। अब उनीहरूले जोसुकैलाई पनि हराउन सक्छन्।’
इङ्गल्याण्डले सेमिफाइनलको सपना देख्ने हो भने सबैभन्दा पहिले हालान्डलाई रोक्ने विशेष रणनीति बनाउनु पर्ने देखिन्छ। यदि हालान्डले ब्राजिलविरुद्धको जस्तै प्रदर्शन दोहोर्याए भने इङ्गल्याण्डको विश्वकप यात्रा क्वार्टरफाइनलमै टुङ्गिने जोखिम उच्च छ।
असार २२, २०८३ सोमबार १३:१९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।