ट्रम्पको फोनपछि फिफाले गर्‍यो ‘विश्वकपकै खिल्ली उडाउने’ विवादित निर्णय

ट्रम्पको फोनपछि फिफाले गर्‍यो ‘विश्वकपकै खिल्ली उडाउने’ विवादित निर्णय

एजेन्सी : विश्वकप फुटबलमा एउटा ठूलो विवादित निर्णय गरेको छ।

अन्तिम-३२ को खेलमा बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध रातो कार्ड पाएका अमेरिकाका स्टार स्ट्राइकर फोलोरिन बालोगुनको प्रतिबन्ध फिफाले फुकुवा गरेको छ।

अब उनले सोमबार बेल्जियमविरुद्ध हुने अन्तिम-१६ को महत्त्वपूर्ण खेलमा खेल्न पाउनेछन्। बालोगुन जारी प्रतियोगितामा ३ गोलसहित अमेरिकाका शीर्ष गोलकर्ता हुन्।

सामान्यतया विश्वकपमा रातो कार्ड पाउने खेलाडीले अर्को खेल अनिवार्य रूपमा गुमाउनुपर्ने नियम छ। तर, बालोगुनको प्रतिबन्ध फुकुवा गर्ने निर्णय विवादमा तानिएको छ।

राष्ट्रपति ट्रम्पको फोन र राजनीतिक हस्तक्षेपको आशंका
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजका अनुसार, बालोगुनको प्रतिबन्ध फुकुवा हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई प्रत्यक्ष फोन गरेर यस विषयमा कुराकानी गरेका थिए।

ह्वाइट हाउसका अन्य उच्च अधिकारीहरूले पनि फिफासँग यसबारे सञ्चार गरेका थिए।

आइतबार साँझ ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ‘एउटा ठूलो अन्यायलाई उल्टाएकोमा’ फिफालाई धन्यवाद समेत दिएका छन्।

फुटबलमा राजनीतिक हस्तक्षेपलाई फिफाको नियमले पूर्ण रूपमा निषेध गरे पनि सह-आयोजक अमेरिकाको दबाबमा फिफाले यो निर्णय लिएको भन्दै तीव्र आलोचना भइरहेको छ।

६४ वर्षपछि इतिहास दोहोरियो
विश्वकपको इतिहासमा हालसम्म १८९ पटक रातो कार्ड दिइएको छ, जसमध्ये यसअघि केवल एक पटक मात्र खेलाडीले अर्को खेल खेल्न पाएका थिए।

सन् १९६२ को विश्वकपमा ब्राजिलका गारिन्चाले सेमिफाइनलमा रातो कार्ड पाए पनि कमिटीको विशेष निर्णयका कारण फाइनल खेल्न पाएका थिए। त्यसबेला स्वचालित प्रतिबन्धको नियम थिएन।

फिफाले बालोगुनको प्रतिबन्ध फुकुवा गर्न आफ्नो अनुशासन नियमावलीको ‘धारा २७’ प्रयोग गरेको छ।

यो धाराले फिफालाई कुनै पनि कारबाही पूर्ण वा आंशिक रूपमा रोक्ने असीमित अधिकार दिन्छ। तर, फिफाले बालोगुनको प्रतिबन्ध फुकुवा गर्नुको कुनै स्पष्ट कारण वा लिखित स्पष्टीकरण भने दिएको छैन।

बेल्जियम आक्रोशित, विश्लेषकहरूद्वारा विरोध
यस निर्णयप्रति इङ्गल्याण्डका पूर्वडिफेन्डर तथा फुटबल विश्लेषक मिकाह रिचर्ड्सले कडा टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘यो निर्णयले पूरै प्रतियोगिताकै खिल्ली उडाएको छ। ठूला स्टारहरूलाई प्रतियोगितामा टिकाइराख्न यसो गरिएको हो। फिफाले योभन्दा राम्रो गर्नुपर्थ्यो।’

यता बेल्जियम फुटबल संघले पनि कडा विज्ञप्ति जारी गर्दै फिफाको निर्णयप्रति आफूहरू अचम्मित भएको जनाएको छ।

बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सियाले व्यङ्ग्य गर्दै भने, ‘मलाई थाहा थिएन कि विश्वकपमा अहिले जुलाई ५ तारिख अप्रिल फूलमा परिणत भइसकेछ। हामी हाम्रो टोलीको मात्र होइन, फुटबलको मूल्यमान्यताको रक्षा गरिरहेका छौँ।’

यस प्रतियोगितामा अन्य ११ जना खेलाडीले रातो कार्ड पाएर प्रतिबन्ध भोगिरहेका बेला अमेरिकी खेलाडीलाई मात्र दिइएको यो विशेष सहुलियतले आगामी दिनमा फुटबलका नियमहरूमा नयाँ विवाद खडा गर्ने निश्चित देखिएको छ।

असार २२, २०८३ सोमबार १२:५७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।