ब्राहिम डियाज चम्किँदा मोरक्कोको विश्वकप सपना थप बलियो

ब्राहिम डियाज चम्किँदा मोरक्कोको विश्वकप सपना थप बलियो

एजेन्सी : मोरक्कोका स्टार मिडफिल्डर ब्राहिम डियाजले २०२६ फिफा विश्वकपमा नयाँ इतिहास रचेका छन्। एकै विश्वकप संस्करणमा चार गोलका लागि असिस्ट गर्ने पहिलो अफ्रिकी खेलाडी बन्दै उनले मोरक्कोलाई लगातार दोस्रोपटक विश्वकपको क्वार्टरफाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन्।

प्रि-क्वार्टरफाइनलमा क्यानडामाथि ३–० को प्रभावशाली जित निकाल्दै मोरक्को सन् २०२२ र २०२६ गरी दुई फरक विश्वकप संस्करणमा क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ।

कतार विश्वकपमा सेमिफाइनलसम्म पुगेको मोरक्को यसपटक त्यो उपलब्धिलाई पनि उछिन्न सक्ने अपेक्षा गरिएको छ। किनभने अहिले उनीहरूसँग विपक्षीको कडा रक्षापङ्क्ति (डिफेन्स) लाई सहजै तोड्न सक्ने प्लेमेकर ब्राहिम डियाज छन्।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। क्यानडाले सुरुआती ४५ मिनेट मोरक्कोलाई दबाबमा राखे पनि दोस्रो हाफमा खेलको चित्र पूर्ण रूपमा बदलियो। क्यानडाको आक्रामक र दबाबपूर्ण खेलका सामु संघर्ष गरिरहेको मोरक्कोका लागि रियल म्याड्रिडका यी खेलाडीले दुईवटा सुन्दर 'असिस्ट' निकाल्दै खेल मोरक्कोको पक्षमा पारे।

५०औं मिनेटमा अजेद्दिन उनाहीले मोरक्कोलाई अग्रता दिलाए। त्यसपछि ८२औं मिनेटमा ब्राहिम डियाजको उत्कृष्ट पासमा उनाहीले व्यक्तिगत दोस्रो तथा टोलीको दोस्रो गोल गरे। इन्जुरी समयको आठौं मिनेटमा डियाजकै अर्को सटिक पासलाई सुफियान राहिमीले गोलमा परिणत गरेपछि मोरक्कोले ३–० को सहज जित दर्ता गर्यो। 

डियाजले यसअघि समूह चरणमा ब्राजिलविरुद्धको खेल र स्कटल्यान्डविरुद्धको जितमा पनि एक–एक असिस्ट गरेका थिए। क्यानडाविरुद्ध थप दुई असिस्ट गरेसँगै उनले प्रतियोगितामा चार असिस्ट पूरा गर्दै अफ्रिकी फुटबलमा नयाँ कीर्तिमान कायम गरे।

मार्च २०२४ मा मोरक्कोबाट डेब्यु गरेका २६ वर्षीय डियाज यस विश्वकपमा टोलीका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक बनेका छन्। गोल गर्नेभन्दा पनि गोलका अवसर सिर्जना गर्ने उनको क्षमता मोरक्कोको सफलताको प्रमुख आधार बनेको छ। सिर्जनशीलता, उत्कृष्ट भिजन र सटिक पासका कारण उनी टोलीका मुख्य प्लेमेकरका रूपमा स्थापित भएका छन्।

खेलपछि डियाजले टोलीको मानसिक दृढताकै कारण कठिन पहिलो हाफपछि उत्कृष्ट पुनरागमन सम्भव भएको बताए।

"यो विश्वकप खेल्न पाउनु, क्वाटरफाइनलमा पुग्नु, र आफ्नो प्रदर्शन मार्फत टोलीलाई मद्दत गर्न पाउनु पक्कै पनि एउटा सपना जस्तै हो," डियाजले फिफा  सँग भने, "तर सबैभन्दा महत्त्वपूर्ण कुरा हामी क्वाटरफाइनलमा पुग्नु नै हो," उनले फिफासँग भने।

उनले थपे, "पहिलो हाफ निकै कठिन थियो। तर हाम्रो मानसिकता बलियो रह्यो। कठिन परिस्थितिबाट खेललाई आफ्नो पक्षमा मोड्न सक्नुले टोलीको आत्मविश्वास र एकताबारे धेरै कुरा बताउँछ।"

डियाजले गोलपछि आफूलाई साथ दिएका टोलीका खेलाडीप्रति पनि आभार व्यक्त गरे।

"टोलीका साथीहरूले मलाई धेरै माया र सम्मान गर्छन्। गोलपछि उनीहरूले मलाई दिएको सम्मान र श्रेयले म निकै खुसी छु," उनले भने।

कतार विश्वकपमा ऐतिहासिक सेमिफाइनल यात्रा तय गरेको मोरक्को यसपटक थप ठूलो उपलब्धिको लक्ष्यमा छ। यद्यपि डियाजले टोली संयमित रहँदै एक–एक खेलमा केन्द्रित भएको बताए।

"२०२२ मा टोलीले अविश्वसनीय प्रदर्शन गरेको थियो। त्यो इतिहासमा अहिले टोलीमा नरहेका खेलाडीहरूको पनि ठूलो योगदान छ। हामी क्वार्टरफाइनल पुगेका छौं र अब त्यसपछिको चुनौतीका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउनेछौं," उनले भने।

 उता, प्रतियोगिताको सह–आयोजक क्यानडा भने नकआउट चरणबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ।

अब मोरक्कोले जुलाई ९ मा बोस्टनमा हुने क्वार्टरफाइनलमा फ्रान्स र पाराग्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

असार २१, २०८३ आइतबार १५:५८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।