फिफा विश्वकप २०२६ : गोल्डेन बुटको दौडमा एम्बाप्पे मेस्सीभन्दा अगाडि, रोनाल्डो कहाँ छन्?

फिफा विश्वकप २०२६ : गोल्डेन बुटको दौडमा एम्बाप्पे मेस्सीभन्दा अगाडि, रोनाल्डो कहाँ छन्?

एजेन्सी : फिफा विश्वकप २०२६ को गोल्डेन बुट उपाधिका लागि फ्रान्सका कप्तान किलियन एम्बाप्पे र अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीबिचको प्रतिस्पर्धा निकै रोमाञ्चक मोडमा पुगेको छ।

एम्बाप्पे र मेस्सी समान ७–७ गोलसहित अग्रस्थानमा रहे पनि असिस्टका आधारमा एम्बाप्पे शीर्ष स्थानमा पुगेका छन्।​​​​​​​

शनिबार राति अन्तिम–१६ अन्तर्गत पाराग्वेविरुद्ध भएको खेलमा एम्बाप्पेले दोस्रो हाफको ७०औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै फ्रान्सलाई १–० को कठिन जित दिलाए। ३८ डिग्री सेल्सियसको अत्यधिक गर्मीबीच सम्पन्न उक्त खेलमा उनको गोल नै फ्रान्सको जितको आधार बन्यो।​​​​​​​

यस गोलसँगै एम्बाप्पेको जारी विश्वकपमा ७ गोल पुगेको छ। मेस्सीको पनि समान ७ गोल रहेकाले गोल्डेन बुटको दौडमा दुवै बराबरीमा छन्। तर फिफाको नियमअनुसार गोल संख्या बराबर भएमा असिस्टलाई प्राथमिकता दिइने भएकाले २ असिस्ट गरेका एम्बाप्पे १ असिस्ट भएका मेस्सीभन्दा अघि छन्।

हालसम्म  एमबाप्पेले ७ गोल र २ असिस्टस गरेका छन् भने  मेस्सीले ७ गोल र १ असिस्ट गरेका छन्। यस्तै, इङ्गल्याण्डका ह्यारी केन र नर्वेका अर्लिङ हालान्डले समान ५ गोल गरेका छन्।  

इतिहास रच्दै एम्बाप्पे र मेस्सी

पाराग्वेविरुद्धको गोलसँगै एम्बाप्पेले विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पुर्याएका छन्। उनले यो उपलब्धि केवल १९ खेलमै हासिल गरेका हुन्। यससँगै उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको सूचीमा मेस्सीभन्दा मात्र एक गोलले पछाडि छन्।

३९ वर्षीय लियोनेल मेस्सीले यसअघि केप भर्डेविरुद्ध ३–२ को जितमा आफ्नो २०औँ विश्वकप गोल पूरा गरेका थिए। मेस्सीले २० गोल गर्न २९ खेल खेलेका छन् भने २८ वर्षीय एम्बाप्पेले १९ खेलमै १९ गोल गर्दै उनको कीर्तिमानलाई चुनौती दिइरहेका छन्।

एम्बाप्पेले अर्को ऐतिहासिक उपलब्धि पनि हासिल गरेका छन्। उनी लगातार तीन संस्करण (२०१८, २०२२ र २०२६) का विश्वकपको नकआउट चरणमा कम्तीमा तीन वा सोभन्दा बढी गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्।

कहाँ छन् क्रिस्टियानो रोनाल्डो?

यसपटकको विश्वकप पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोका लागि भने केही संघर्षपूर्ण देखिएको छ। उनले ४ खेलमा मात्र ३ गोल गर्न सकेका छन् र उनी गोल्डेन बुटको मुख्य दौडबाट निकै पछि परेका देखिन्छन्। 

असार २१, २०८३ आइतबार १२:०२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।