पाराग्वेलाई हराउँदै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
काठमाडौं : किलियन एम्बाप्पेले पेनाल्टीमार्फत गरेको गोल निर्णायक बनेपछि फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
फिलाडेल्फिया स्टेडियममा आइतबार भएको अन्तिम १६ को खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।
खेलको ७० औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गरेको गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो। पाराग्वेका खेलाडी डिएगो गोमेजले फ्रान्सेली मिडफिल्डर डिजायर डुएलाई पेनाल्टी बक्सभित्र लडाएपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो।
यस गोलसँगै एम्बाप्पेको विश्वकप करियरमा कूल गोल सङ्ख्या १९ पुगेको छ। जारी विश्वकपमा ७ गोल गरिसकेका उनी सर्वाधिक गोलकर्ताको सूचीमा लियोनल मेसीसँगै शीर्ष स्थानमा छन्। खेलको अन्त्यतिर एम्बाप्पेले गोलका लागि गरेका अन्य दुई प्रयासलाई पाराग्वेका गोलरक्षक ओर्लान्डो गिलले उत्कृष्ट बचाउ गरेका थिए।
फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा पुगेको यो लगातार चौथो पटक हो। अब फ्रान्सले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग खेल्ने छ। मोरक्कोले यसअघि आयोजक क्यानडालाई पराजित गरेर अन्तिम आठमा पुगिसकेको छ।
असार २१, २०८३ आइतबार ०७:२४:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।