साढे पाँच घण्टामा कसरी आफ्नै निर्णयबाट ‘यु-टर्न’ भयो फिफा?
एजेन्सी : विश्वकप फुटबलअन्तर्गत इंग्ल्यान्ड र मेक्सिकोबीच हुने अन्तिम १६ को खेलको समय परिवर्तन गर्ने फिफाको प्रस्तावले फुटबल वृत्तमा साढे पाँच घण्टासम्म अन्योल र तनावको वातावरण सिर्जना भयो।
आइतबार साँझ मेक्सिको सिटीमा खराब मौसमको पूर्वानुमानका कारण फिफाले खेल ६ घण्टा अगाडि सार्न खोजे पनि दुवै देशका फुटबल संघहरूको कडा विरोधपछि अन्ततः खेल पूर्वनिर्धारित समयमै हुने तय भएको छ।
यससँगै यो खेल मेक्सिको सिटीको स्थानीय समयअनुसार आइतबार बेलुकी ६:०० बजे (नेपाली समयअनुसार सोमबार बिहान ५:४५ बजे) नै सुरू हुने भएको छ।
कसरी सुरु भयो अन्योल?
ब्रिटिस समय अनुसार शुक्रबार साँझ साढे छ बजे मेक्सिकन सञ्चारमाध्यमहरूले फिफाले खेलको समय सार्ने तयारी गरिरहेको खबर पहिलो पटक सार्वजनिक गरेपछि यो अन्योल सुरू भएको हो।
मौसम पूर्वानुमानअनुसार आइतबार साँझ खेल हुने एस्टाडियो एज्टेका रङ्गशाला क्षेत्रमा हुरीबतास, मेघगर्जन र चट्याङसहित बाढी आउने सम्भावना थियो। फिफाले सुरक्षाको कारण देखाउँदै खेल दिउँसो १२ बजे नै सुरू गर्न खोजेको थियो।
यस खबरले खेलको अन्तिम तयारीमा जुटिरहेका खेलाडी र समर्थकहरूमाझ ठूलो अन्योल सिर्जना गर्यो। सुरुमा इंग्ल्यान्डको फुटबल संघ (एफए) लाई यसबारे आधिकारिक रूपमा केही जानकारी नै दिइएको थिएन।
ब्रिटिस समयअनुसार शुक्रबार राति ८ बजे मात्र फिफाले इंग्लिस फुटबल संघलाई यसबारे अनौपचारिक जानकारी दियो। खेल सुरू हुन ४८ घण्टाभन्दा कम समय बाँकी रहँदा खेल तालिका बदल्ने फिफाको प्रस्तावप्रति इंग्ल्यान्ड र मेक्सिको दुवै देशका फुटबल अधिकारीहरू आक्रोशित बने।
मेक्सिकोका मुख्य प्रशिक्षक ह्याभियर अगिरेले फिफाको यो कदमलाई ‘पेटमा लात हानेजस्तो’ पीडादायी भन्दै कडा आलोचना गरे। उनले समय परिवर्तन गर्दा खेलाडीको मानसिक र शारीरिक तयारी पूर्ण रूपमा प्रभावित हुने बताए।
दुवै देशका फुटबल संघहरूले फिफासँगको वार्तामा यस निर्णयले खेलाडीहरूको तयारी, खेलको सुरक्षा र प्राविधिक व्यवस्थापनका साथै दर्शकहरूको हवाई यात्रा तालिकामा गम्भीर असर पुर्याउने तर्क अघि सारे।
प्राविधिक जटिलता र फिफाको यु-टर्न
खेलको समय दिउँसो १२ बजे सार्दा आइतबारका ब्राजिल र नर्वेबीचको खेलको समयसँग जुध्ने प्राविधिक समस्या थियो। साथै, एटलान्टाबाट आइतबार बिहान मेक्सिको सिटीका लागि उडान भर्ने तयारीमा रहेका करिब तीन हजारभन्दा बढी इंग्लिस समर्थकहरूको यात्रा योजना पनि भद्रगोल हुने निश्चित थियो।
अन्ततः दुवै संघको कडा दबाब, खेलाडीहरूको असन्तुष्टि र व्यवस्थापकीय कठिनाइका कारण फिफा आफ्नो प्रस्तावबाट पछि हट्न बाध्य भयो। शुक्रबार मध्यरातमा मात्र खेल पुरानै समयमा हुने पुष्टि गरियो।
मौसम र उचाइको चुनौती कायमै
समय परिवर्तन नभए पनि खेलाडीहरूका लागि मैदानको चुनौती भने यथावत् छ।
मेक्सिको सिटीमा आइतबार साँझ चट्याङ र असिनासहितको ठूलो आँधीहुरी आउने सम्भावना उच्च छ। यसअघि पनि मेक्सिको र इक्वेडरको खेल मौसमकै कारण एक घण्टा ढिलो सुरू भएको थियो।
यसबाहेक, समुद्र सतहबाट २२ सय मिटरको उचाइमा रहेको एस्टाडियो एज्टेकामा पातलो हावाका कारण खेलाडीहरूको दौडने क्षमता १० प्रतिशतले घट्न सक्ने खेल विशेषज्ञहरू बताउँछन्।
तर, उनीहरूका अनुसार यदि खेलको दौरान चट्याङका कारण केही समय खेल रोकिएमा त्यसले उचाइको मारमा परेका इंग्ल्यान्डका खेलाडीहरूलाई केही राहत र विश्राम मिल्न सक्नेछ।
असार २०, २०८३ शनिबार ०८:५१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।