तीव्र विरोधपछि आफ्नै निर्णयबाट पछि हट्यो फिफा
एजेन्सी : फिफाले विश्वकप फुटबलअन्तर्गत इंग्ल्यान्ड र मेक्सिकोबीच हुने अन्तिम १६ को खेलको समय परिवर्तन गर्ने आफ्नो प्रस्ताव फिर्ता लिएको छ।
दुवै देशका फुटबल सङ्घको कडा विरोधपछि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) आफ्नो निर्णयबाट पछि हटेको हो।
यससँगै यो महत्त्वपूर्ण खेल मेक्सिको सिटीको स्थानीय समयअनुसार आइतबार बेलुकी ६:०० बजे (नेपाली समयअनुसार सोमबार बिहान ५:४५ बजे) नै सुरु हुने निश्चित भएको छ।
यसअघि फिफाले मौसमको कारण देखाउँदै खेललाई आइतबार दिउँसो १२:०० बजे गर्न प्रस्ताव गरेको थियो। मौसम पूर्वानुमानअनुसार आइतबार बेलुकी मेक्सिको सिटीमा मेघगर्जन र चट्याङसहितको ठुलो वर्षा हुने सम्भावना छ।
तर, अन्तिम समयमा खेलको तालिका परिवर्तन गर्दा खेलाडीहरूको तयारी, दर्शकहरूको यात्रा व्यवस्थापन र खेलको प्राविधिक तयारीमा गम्भीर असर पर्ने भन्दै इंग्लिस र मेक्सिकन फुटबल अधिकारीहरूले आपत्ति जनाएका थिए।
मेक्सिकोका मुख्य प्रशिक्षक ह्याभियर अगिरेले फिफाको प्रस्तावप्रति कडा असन्तुष्टि जनाएका थिए। उनले फिफाले आफूहरूसँग कुनै सल्लाह नगरी यस्तो प्रस्ताव गरेको र यसले खेलाडीहरूको पूर्वतयारीलाई प्रभावित बनाउने बताएका थिए।
यता इंग्ल्यान्डका खेलाडीहरू मार्कस रासफोर्ड र मोर्गान रोजर्सले भने समय परिवर्तन भए पनि आफूहरू खेलका लागि मानसिक रूपमा तयार रहेको बताएका थिए।
मेक्सिको सिटीमा हुने यस खेलका लागि मौसम र उचाइ दुवै ठुलो चुनौतीका रूपमा रहेका छन्। खेल हुने ऐतिहासिक एस्टाडियो एज्टेका रङ्गशाला समुद्र सतहबाट २ हजार २४० मिटरको उचाइमा छ।
यति धेरै उचाइमा हावा पातलो हुने भएकाले खेलाडीहरूलाई श्वासप्रश्वासमा कठिनाइ हुने, मुटुको धड्कन बढ्ने र छिटो थकान लाग्ने समस्या हुन सक्छ। मेक्सिकोले आफ्नो यस घरेलु मैदानमा खेलेका ८९ खेलमध्ये अहिलेसम्म मात्र दुई खेलमा पराजय भोगेको छ।
यता बेलायतमा यो खेल प्रत्यक्ष हेर्न चाहने प्रशंसकहरूका लागि विशेष व्यवस्था गरिएको छ। सरकारले खेलको दिन पबहरूलाई बिहान ५ बजेसम्म खोल्न पाउने कानुनी अनुमति दिएको छ।
इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले बालबालिकाहरूलाई ढिलोसम्म खेल हेर्न दिन र भोलिपल्ट विद्यालय जानका लागि अभिभावकले अनुमति पत्र लेखिदिन अनुरोध गरेका थिए। तर, सरकारी प्रवक्ताले भने बालबालिका सोमबार समयमै विद्यालय जानुपर्ने स्पष्ट पारेका छन्।
असार २०, २०८३ शनिबार ०६:४५:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।