क्रिकेटको ‘स्निको’ फुटबलमा छिर्दा खोसियो क्रोएसियाको खुसी!
एजेन्सी : टोरन्टोमा भएको पोर्चुगल र क्रोएसियाबिचको खेलमा भएको भीएआरको निर्णयलाई बीबीसीका कमेन्टेटर स्टिभ विल्सनले ‘भीएआरको इतिहासकै सबैभन्दा ठूला निर्णयहरूमध्ये एक’ भनेका छन्।
अत्यन्तै नाटकीय र रोमाञ्चक बनेको खेलको दोस्रो हाफमा २-१ ले पछि परेको क्रोएसियाले इन्जुरी समयको १३औं मिनेटमा बराबरी गोल गरेको थियो।
जोस्को ग्वार्डिओलले गोल गरेपछि क्रोएसियाली टोली र समर्थकहरू खुसीयालीमा झुमेका थिए। सोही समयमा, खेल जीवनमै पहिलोपटक विश्वकपको नकआउट चरणमा गोल गरेर बेन्चमा फर्किएका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो निराश देखिन्थे।
तर, खेल अतिरिक्त समयमा धकेलिने निश्चित जस्तै देखिएका बेला भीएआर ज्यारेड गिलेटले अफसाइडको जाँच सुरू गरे।
विवाद र ‘स्निको’ प्रविधिको प्रयोग
मुख्य प्रश्न यो थियो- के गोल हुनुअघि क्रोएसियाका इगोर मातानोभिचले बललाई हल्का छोएका (फ्लिक) थिए? यदि उनको टाउकोले बल छोएको भए गोल अफसाइड हुन्थ्यो, नत्र गोलले मान्यता पाउँथ्यो।
नर्वेका रेफ्री एस्पेन एस्कासले लामो समय स्क्रिनमा रिप्ले हेरे। सामान्य भिडियो रिप्लेबाट बल छोएको वा नछोएको स्पष्ट हुन नसकेपछि वैज्ञानिक प्रविधिको सहयोग लिइयो।
यस विश्वकपका लागि एडिडासले निर्माण गरेको ‘ट्रिओन्डा’ बलभित्र एउटा विशेष माइक्रोचिप राखिएको छ, जसले बलमा भएको सानो स्पर्शलाई पनि पत्ता लगाउन सक्छ।
क्रिकेटमा प्रयोग हुने ‘स्निकोमिटर’ वा ‘अल्ट्राएज’ जस्तै यस प्रविधिले मातानोभिचको टाउको बलमा हल्का छोएको स्पष्ट संकेत अर्थात स्पाइक देखाएपछि रेफ्रीले गोललाई रद्द गरिदिए।
यो निर्णय आउनासाथ रङ्गशालामा तनावपूर्ण स्थिति सिर्जना भयो। आक्रोशित क्रोएसियाली समर्थकहरूले मैदानभित्र प्लास्टिकका बोतलहरू प्रहार गरे।
रेफ्रीको निर्णयमा दुई देशका प्रशिक्षकको फरक मत
खेलपछि क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले रेफ्रीको निर्णयप्रति कडा असन्तुष्टि व्यक्त गरे।
उनले भने, ‘म यस विषयमा धेरै बोल्न चाहन्नँ, तर रेफ्रीको निर्णय निकै खराब थियो। भीएआरले मानिसको भावना मार्छ, यसले फुटबलको वास्तविक आनन्द नै समाप्त पारिदिएको छ। हामी भीएआरको प्रयोगमा धेरै अगाडि बढिसक्यौँ।’
अर्कोतर्फ, पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले भने प्रविधिको बचाउ गरे।
उनले भने, ‘दुईमध्ये एक टोली बाहिरिनु दुःखद हो। तर यो कुनै भाग्य वा गलत निर्णय थिएन। यो स्पष्ट निर्णय थियो। बलभित्र रहेको चिप र सेन्सरले बल छोएको प्रष्ट देखाएको थियो।’
पूर्व फुटबलर म्याट उप्सनले भने रिप्ले हेर्दा पनि बलको दिशा र स्पिन नबदलिएकाले बल छोएकोमा आफू पूर्ण रूपमा विश्वस्त हुन नसकेको टिप्पणी गरे।
रोनाल्डोको उतारचढावपूर्ण रात
क्रिस्टियानो रोनाल्डोका लागि यो खेल भावनाको उतारचढावले भरिएको थियो। सुरुमा उनको एउटा गोललाई अफसाइड भन्दै खारेज गरिएको थियो।
त्यसपछि उनले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। आफ्नो छैटौँ विश्वकप खेलिरहेका ४१ वर्षीय रोनाल्डोको विश्वकप नकआउट चरणमा यो पहिलो गोल हो।
खेलको ८१औं मिनेटमा उनलाई मैदानबाट बाहिर निकालिँदा उनी असन्तुष्ट देखिएका थिए। तर ९४औँ मिनेटमा गोन्सालो रामोसले गोल गरेर पोर्चुगललाई २-१ को अग्रता दिलाएपछि रोनाल्डो खुसी मनाउन मैदानभित्र दौडिएका थिए।
लुका मोड्रिचको विश्वकप यात्राको दुःखद अन्त्य
पोर्चुगलका रोनाल्डोको विश्वकप यात्रा जारी रहँदा क्रोएसियाका ४० वर्षीय भेट्रान मिडफिल्डर लुका मोड्रिचका लागि भने यो सम्भवतः अन्तिम विश्वकप खेल बन्यो। सन् २०३० को अर्को विश्वकपमा उनी ४४ वर्षका हुनेछन्।
खेल सकिएपछि रियल मड्रिडका उनका पुराना सहकर्मी रोनाल्डोले मोड्रिचलाई अङ्कमाल गर्दै सान्त्वना दिएका थिए। हालै जुन २४ मा पानामाविरुद्धको खेलमा मोड्रिचले क्रोएसियाका लागि आफ्नो ऐतिहासिक २००औ्ं खेल पूरा गरेका थिए।
ब्राजिलका पूर्व खेलाडी लुकास लेइभाले मोड्रिचको बिदाइबारे टिप्पणी गर्दै भने, ‘लुका मोड्रिच जस्तो महान् खेलाडी यसरी बाहिरिनु निकै दुःखद छ। उनले विगत २० वर्षमा आफ्नो खेल स्तर देखाएका छन् र क्रोएसियालाई विश्वकपको उच्च स्तरमा पुर्याएका छन्।’
असार १९, २०८३ शुक्रबार १४:२०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।