‘बुढीको पेटीकोट लगाएर हिँड, तह लगाउन कति पैसा लाग्छ म बेहोर्छु’ भनेको थिइनँ : कुमारका भाइ विक्रम

‘बुढीको पेटीकोट लगाएर हिँड, तह लगाउन कति पैसा लाग्छ म बेहोर्छु’ भनेको थिइनँ : कुमारका भाइ विक्रम

काठमाडौं : तारकेश्वरको पैँयुटार हत्याकाण्डमा अभियुक्त बनाइएका विक्रम थापामगरले हत्याको योजना र षड्यन्त्रमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।

मुख्य अभियुक्त कुमार थापा मगर (नेपाली ब्रो)का सहोदर भाइ विक्रमले सरकारी अधिकारीसमक्ष बयान दिँदै आफूमाथि लागेको उक्साहटको आरोप अस्वीकार गरेका छन्।

यद्यपि, उनले घटनास्थलको सीसीटीभी फुटेजमा देखिने आक्रमणकारी व्यक्ति आफ्नै दाजु कुमार थापा रहेको सनाखत गरिदिएका छन्।

बयानका अनुसार विक्रम थापामगर हाल काठमाडौंको तारकेश्वर-५ पैँयुटारस्थित आफ्नी बहिनी रोजिना थापाको घरमा बस्दै आएका छन्।

विगत सम्झिँदै उनले २०५९ सालमा नुवाकोटस्थित घरमा छँदा रुखबाट लडेर आफ्नो दाहिने हात र करङ भाँचिएको र करिब एक वर्ष छाउनी अस्पतालमा उपचार गराएको बताएका छन्।

निको भएपछि चिनियाँ भाषा सिकेर विगत ५ वर्षदेखि उनी ट्रेकिङ गाइडका रूपमा कार्यरत छन्।

दाजु कुमार र भाउजू ईश्वरीबीच सैनिक सेवामा छँदा प्रेम विवाह भएको र सुरुवाती दिनमा सम्बन्ध राम्रै रहेको उनले बताएका छन्।

तर, दाजु वैदेशिक रोजगारीमा गएर फर्किएपछि र परस्त्रीहरूसँग सम्बन्धमा रहेपछि पारिवारिक खटपट सुरु भएको उनको बयानमा उल्लेख छ।

विक्रमले दाजु कुमार र प्रतिक्षा आचार्यबीचको प्रेम सम्बन्धबारे सामाजिक सञ्जाल टिकटक र साथी पुजन थापा क्षेत्रीको रिकन्डिसन हाउसमा भएको भेटघाटबाट थाहा पाएका थिए।

दाजुको अनैतिक सम्बन्ध सार्वजनिक भएपछि भाउजू ईश्वरीले घरेलु हिंसा र यातनाको विषयलाई लिएर प्रहरीमा उजुरी दिएको र पक्राउ परेका दाजु ५० हजार धरौटीमा छुटेको विषयमा आफू पूर्ण जानकार रहेको उनले बताएका छन्।

उनले दाजु र भाउजूलाई विवाद नगर्न र मिलेर बस्न बेला-बेलामा सम्झाउने गरेको दाबी गरेका छन्। तर दाजु जिद्दी स्वभावको भएकाले कसैको कुरा नसुन्ने गरेको उनको भनाइ छ।

अभियोग पत्रमा विक्रमले दाजु कुमारलाई ‘एउटी श्रीमती तह लगाउन सक्दैनौ, बुढीको पेटीकोट लगाएर हिँड, तह लगाउन कति पैसा लाग्छ म बेहोर्छु’ भनी हत्याका लागि उक्साएको आरोप लगाइएको छ।

विक्रमले यस आरोपको पूर्ण रूपमा खण्डन गरेका छन्। उनले आफूले दाजुलाई कहिल्यै त्यस्तो शब्द नबोलेको र हत्या गर्न उक्साउने वा दुरुत्साहन गर्ने कुनै कार्य नगरेको जिकिर गरेका छन्।

‘दाजुभाउजूबीचको विवादमा मैले सधैँ मिलाउने प्रयास गरेँ, मार्ने योजनामा मेरो कुनै भूमिका छैन’, उनले बयानमा भनेका छन्।

जेठ २२ गते राति आफ्नी भाउजू ईश्वरीको हत्या भएको कुरा आफूले जेठ २३ गते बिहान ५ बजेतिर मोबाइल चलाउने क्रममा सामाजिक सञ्जालबाट थाहा पाएको विक्रमले बताएका छन्।

अनुसन्धानका क्रममा प्रहरीले उनलाई घटनास्थल वरपरको सीसीटीभी फुटेज देखाएको थियो।

उक्त फुटेज हेरेपछि विक्रमले स्कुटर चालकलाई ओर्लिएर लखेट्ने, आक्रमण गर्ने र पछि गोजीबाट केही कुरा निकालेर फाल्दै कार चढेर भाग्ने पैदल यात्री व्यक्ति आफ्नै सहोदर दाजु कुमार थापा मगर रहेको र स्कुटर चालक मृतक भाउजू ईश्वरी भुजेल रहेको स्पष्ट रूपमा सनाखत गरेका छन्।

बयानमा विक्रमले आफू पूर्ण रूपमा निर्दोष रहेको दाबी गर्दै श्रीमतीको हत्या जस्तो जघन्य अपराध गर्ने आफ्नै दाजु कुमार थापा मगरलाई कानुन बमोजिम कडा कारबाही हुनुपर्ने माग गरेका छन्।

उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा बिहीबार भएको सुनुवाइपछि कुमार र उनकी  प्रेमिका प्रतिक्षालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने भाइ विक्रम र साथी पुजन थापा क्षेत्रीलाई भने एक-एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

असार १९, २०८३ शुक्रबार १२:५७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।