दोस्रो हाफको ४८ सेकेन्डमै गोल, ८८ वर्षपछि स्विट्जरल्यान्डको नकआउट जित
एजेन्सी : भ्यानकुभरमा भएको विश्वकपको नकआउट खेलमा अल्जेरियालाई २-० ले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको छ।
स्विट्जरल्यान्डले विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको यो ८८ वर्षयताकै पहिलो पटक हो। यो ऐतिहासिक जितसँगै स्विट्जरल्यान्ड लगातार चौथो पटक विश्वकपको अन्तिम १६ मा पुग्न सफल भएको छ।
खेलमा स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र ड्यान एन्डोएले १-१ गोल गरे।
खेलको १०औं मिनेटमै स्विट्जरल्यान्डले सुरुवाती अग्रता लियो। युवा स्टार जोहान मान्जाम्बीले मैदानको मध्यभागबाट अगाडि बढाएको बललाई अल्जेरियाका डिफेन्डरहरूलाई छलाउँदै उत्कृष्ट रूपमा डिबक्सभित्र पास दिए। सोही पासमा ब्रिल एम्बोलोले खाली पोस्टमा सहजै गोल गरे।
दोस्रो हाफ सुरु भएको मात्र ४८ सेकेन्डमै स्विट्जरल्यान्डले खेलमा २-० को अग्रता लियो। अल्जेरियाका डिफेन्डरहरूले बल क्लियर गर्न नसक्दा पाएको मौकालाई सदुपयोग गर्दै नटिङ्घम फरेस्टका विङ्गर ड्यान एन्डोएले उत्कृष्ट प्रहारमार्फत गोल गरे। यो गोल नै खेलको निर्णायक गोल साबित भयो।
खेलको ८१औं मिनेटमा स्विट्जरल्यान्डका सब्सटिच्युट खेलाडी फाबियन रिडरले गोल गर्ने सुनौलो अवसर गुमाए।
जाकारियाले मिलाइदिएको उत्कृष्ट क्रसमा गोलकिपर र डिफेन्डरहरू कोही नभएको खाली पोस्टमा रिडरले गोल गर्न सकेनन्। उनको कुर्कुच्चामा ठोकिएर बल सिधै गोलकिपरको हातमा पुगेको थियो, जसलाई यस विश्वकपकै सबैभन्दा सजिलो अवसर खेर फालेको रूपमा हेरिएको छ।
स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाकाले यसै खेलमार्फत आफ्नो देशका लागि कीर्तिमानी १५०औं अन्तर्राष्ट्रिय खेल पूरा गरे।
अल्जेरियाका ३५ वर्षीय कप्तान रियाद महरेज खेलको ७१औं मिनेटमा मैदानबाट बाहिरिए। यो उनको खेलजीवनको अन्तिम विश्वकप खेल हुनसक्ने अनुमान गरिएको छ।
अब क्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डले अन्तिम १६ मा कोलम्बिया वा घानामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
असार १९, २०८३ शुक्रबार ११:०१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।