पोर्चुगिज टोलीद्वारा कार दुर्घटनामा परेर निधन भएका डिएगो जोटाप्रति श्रद्धाञ्जली
एजेन्सी : विश्वकपमा क्रोएसियाविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेसँगै पोर्चुगिज टोलीले आफ्ना दिवङ्गत पूर्व सहकर्मी डिएगो जोटाप्रति श्रद्धाञ्जली दिएका छन्।
लिभरपुलका पूर्व स्ट्राइकर २८ वर्षीय जोटाको ठीक एक वर्षअघि (३ जुलाई २०२५ मा) स्पेनमा कार दुर्घटनामा परी दुःखद निधन भएको थियो।
सोही घटनाको वर्षदिन पुगेको अवसरमा पोर्चुगलले क्रोएसियाविरुद्धको खेलअघि र पछि उनीप्रति सम्मान व्यक्त गरेको हो।
खेल सकिएपछि कप्तान क्रिस्टियानो रोनाल्डोले जोटाको स्मरणमा उनको ‘२१’ नम्बर अङ्कित विशेष जर्सी लगाएका थिए र सम्पूर्ण टोलीले उक्त जर्सीलाई उचालेर सम्मान प्रकट गरेका थिए।
खेल सुरु हुनुअघि राष्ट्रिय गान बज्ने क्रममा टोरन्टो रङ्गशालाको ठूलो स्क्रिनमा जोटाको तस्बिर देखाइएको थियो। उक्त दृश्य देखेपछि समर्थकहरूले ताली बजाएर सम्मान व्यक्त गरे भने रोनाल्डो लगायतका खेलाडीहरू भावुक देखिएका थिए।

खेल अवधिभर पोर्चुगलका खेलाडीहरूले देशका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले उपहार दिएको विशेष नाडी-पेटी बाँधेका थिए, जसमा जोटाको नाम लेखिएको छ।
जोटाका नजिकका साथी तथा खेलाडी रुबेन नेभेसले आफ्नो खुट्टामा जोटालाई अङ्कमाल गरेको ट्याटु बनाएका छन् र आफूहरू अझै पनि ह्वाट्सएप ग्रुपमार्फत जोटालाई सम्झिरहने गरेको बताएका छन्।

पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले जोटा सधैँ टोलीको प्रेरणाका रूपमा रहने र उनीकै लागि आफूहरू विश्वकप जित्न प्रतिबद्ध रहेको बताएका छन्।
असार १९, २०८३ शुक्रबार ०८:४४:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।