अन्तिम मिनेटको ‘भीएआर’ ड्रामा : क्रोएसियाको गोल रद्द भएसँगै पोर्चुगल २-१ ले विजयी, दर्शकले मैदानमा बोतल फ्याँके
एजेन्सी : पोर्चुगल र क्रोएसियाबिचको विश्वकपको नकआउट खेलको अन्तिम समयमा मैदानमा असाधारण र नाटकीय दृश्य देखियो।
इन्जुरी समयको अन्तिम मिनेटमा क्रोएसियाले गरेको बराबरी गोललाई ‘भीएआर’ले रद्द गरिदिएपछि पोर्चुगल २-१ ले विजयी हुँदै अन्तिम १६ मा प्रवेश गर्यो।
निर्णयबाट आक्रोशित बनेका क्रोएसियाली समर्थकहरूले मैदानमा बोतल प्रहार गरेपछि खेल केही मिनेट अवरुद्ध समेत बन्न पुग्यो।
खेलको पहिलो हाफमा दुवै टोलीले गोलका केही राम्रा अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
पोर्चुगलले बलमाथि नियन्त्रण राख्दै क्रोएसियाको पोस्टमा लगातार आक्रमण बुने पनि पहिलो हाफ गोलरहित बराबरीमै सकियो।
खेलको दोस्रो हाफ निकै रोमाञ्चक रह्यो। ५३औं मिनेटमा इभान पेरिसिचले उत्कृष्ट गोल गर्दै क्रोएसियालाई १-० को सुरुवाती अग्रता दिलाए।
एक गोलले पछि परेको पोर्चुगलले ६८औं मिनेटमा पेनाल्टीको अवसर पायो। क्रोएसियाका भ्लासिचले पेनाल्टी बक्सभित्र भेइगालाई तानेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो।
४१ वर्षीय भेट्रान स्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल १-१ को बराबरीमा ल्याए। विश्वकपको नकआउट चरणमा रोनाल्डोको यो नै पहिलो गोल हो।
खेल अतिरिक्त समयतर्फ धकेलिन लाग्दा ९४ मिनेटमा पोर्चुगलले पुनः अग्रता लियो। राफेल लियाओको उत्कृष्ट क्रसमा गोन्सालो रामोसले सानदार हेडरमार्फत गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए।
खेल सकिनै लाग्दा (९०+१३औं मिनेटमा) क्रोएसियाका जोस्को ग्वार्डिओलले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याए। क्रोएसियाली खेलाडी र समर्थकहरू खुसीयालीमा झुमे। तर, उक्त खुसीयाली लामो समय टिक्न सकेन।
भीएआरको लामो जाँच र रेफ्रीको अन-फिल्ड समीक्षापछि गोल गर्नुअघि क्रोएसियाका मारियो पासालिच अफसाइड रहेको पुष्टि भयो। पासालिचले बललाई हल्का छोएको स्निको मिटरमा देखिएपछि ग्वार्डिओलको गोल रद्द भयो।
भीएआरको यो निर्णयपछि क्रोएसियाली समर्थकहरू आक्रोशित बने।
उनीहरूले मैदानभित्र बोतलहरू प्रहार गर्न थाले, जसका कारण खेलको अन्तिम केही सेकेन्ड सुचारु गर्न ढिलाइ भएको थियो। अन्ततः खेल पोर्चुगलको पक्षमा २-१ को स्कोरमा सकियो।
जितसँगै पोर्चुगलले विश्वकपको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ, जहाँ उसले अस्ट्रियालाई ३-० ले हराएको स्पेनको सामना गर्नेछ।
असार १९, २०८३ शुक्रबार ०७:२६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।