१६ वर्षपछि नकआउट खेल जित्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१६ वर्षपछि नकआउट खेल जित्दै स्पेन विश्वकपको अन्तिम १६ मा

एजेन्सी : लस एन्जलसमा भएको खेलमा अस्ट्रियालाई ३-० ले पराजित गर्दै स्पेन सन् २०२६ को पुरुष विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

स्पेनले १६ वर्षपछि पहिलोपटक विश्वकपको नकआउट चरणमा जित हासिल गरेको हो। यसअघि सन् २०१० को विश्वकप फाइनल जितेयता स्पेनले नकआउट खेलमा जित दर्ता गर्न सकेको थिएन।

खेलमा स्पेनका लागि मिकेल ओयार्जाबालले दुई गोल गरे भने पेड्रो पोरोले एक गोल थपे।

खेलको सुरुदेखि नै दबाब बनाएको स्पेनका लागि ३६औं मिनेटमा मिकेल ओयार्जाबालले पहिलो गोल गरे। उनले मार्क कुकुरेलाको पासलाई सदुपयोग गर्दै पहिलो टचमै गोल गरेका थिए।

यो गोल सन् २०१० को फाइनलमा आन्द्रेस इनिएस्टाले गरेको गोलपछि नकआउट चरणमा स्पेनले गरेको पहिलो गोल हो।

खेलको ६६औं मिनेटमा एलेक्स बाएनाको क्रसलाई राइट-ब्याक पेड्रो पोरोले उत्कृष्ट हेडमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए।

खेल सकिन एक मिनेट बाँकी छँदा कुकुरेलाको सुन्दर पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको ३-० को जित पक्का गरे।

खेलको २९औं मिनेटमा कुकुरेलाले गोल गरे पनि रेफ्रीले त्यसलाई मान्यता दिएनन्। स्पेनका डिफेन्डर पाउ कुबार्सीले अस्ट्रियाका गोलकिपर अलेक्जेन्डर श्लागरलाई फाउल गरेको भन्दै उक्त गोल रद्द गरिएको थियो।

अस्ट्रियाका गोलकिपर श्लागरले केही उत्कृष्ट बचाउ गर्दै स्पेनलाई अझ बढी गोल गर्नबाट रोकेका थिए। उनले बाएनाको फ्री-किक र १८ वर्षीय युवा स्टार लामिन यमालको कडा प्रहारलाई उत्कृष्ट ढङ्गले बचाएका थिए।

अर्कोतर्फ, अस्ट्रियाका सब्सटिच्युट खेलाडी सासा कालाज्दिचले मैदान प्रवेश गरेलगत्तै हेडरमार्फत गोल गर्ने राम्रो अवसर गुमाएका थिए।

स्पेनले यस विश्वकपका आफ्ना सुरुवाती चारवटै खेलमा कुनै पनि गोल ब्यहोरेको छैन भने स्पेनका गोलकिपर उनाई सिमोनले विश्वकपमा लगातार ५ खेलमा कुनै गोल नखाई इटालीका वाल्टर जेङ्गाको कीर्तिमान बराबरी गरेका छन्।

अन्तिम १६ मा स्पेनले पोर्चुगल वा क्रोएसियामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

असार १९, २०८३ शुक्रबार ०६:३७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।