जिदानपछि विश्वकप नकआउटमा गोल गर्ने र रेड कार्ड पाउने पहिलो खेलाडी बने बालगुन
एजेन्सी : जिनेदिन जिदानपछि विश्वकपको नकआउट खेलमा गोल गर्ने र रेड कार्ड पाउने पहिलो खेलाडी अमेरिकाका स्ट्राइकर फोलोरिन बालगुन बनेका छन्।
सन् २००६ को विश्वकप फाइनलमा फ्रान्सका कप्तान जिनेदिन जिदानले गोल गर्ने र रेड कार्ड पाउने पहिलो खेलाडी बनेका थिए।
जारी विश्वकपमा बोस्निया-हर्जगोभिना विरुद्धको खेलमा बालगुनले पहिले गोल गरे र पछि रेड कार्ड पाए। १० खेलाडीमा समेटिएको अमेरिका बोस्नियालाई २-० ले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गर्यो।
सन् २००६ को विश्वकप फाइनलमा जिदानले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, खेल अतिरिक्त समयमा पुगेपछि १०९औं मिनेटमा इटालीका डिफेन्डर मार्को मातेराज्जीले गाली गरेपछि जिदानले उनको छातीमा टाउकोले प्रहार (हेडबट) गरेका थिए।
सोही घटनाका कारण जिदानले रेड कार्ड पाएका थिए र फ्रान्स पेनाल्टी सुटआउटमा पराजित भएको थियो।
बालगुनको गोल र रेड कार्ड
बोस्नियाविरुद्धको खेलको ४५औं मिनेटमा मलिक टिलम्यानको पासमा गोल गर्दै २४ वर्षीय बालगुनले अमेरिकालाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, खेलको ६४औं मिनेटमा बोस्नियाका रक्षक तारिक मुहरेमोभिचमाथि खराब ट्याकल गरेपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा बालगुनलाई सिधै रेड कार्ड देखाइयो।
बालगुन बाहिरिएपछि १० खेलाडीमा समेटिएको अमेरिकाका लागि ८२औं मिनेटमा मलिक टिलम्यानले फ्रि-किकमार्फत गोल गर्दै जित सुनिश्चित गरे।
सन् १९९४ को विश्वकपमा एरिक वाइनाल्डापछि अमेरिकाका लागि विश्वकपमा सिधै फ्रि-किकबाट गोल गर्ने टिलम्यान दोस्रो खेलाडी बनेका छन्।
प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको अमेरिकाले सन् २००२ पछि पहिलो पटक विश्वकपको नकआउट खेल जितेको हो।
यसअघि सन् २००२ मा अमेरिकाले मेक्सिकोलाई २-० ले नै हराएको थियो। अब अन्तिम १६ मा अमेरिकाले बेल्जियमको सामना गर्नेछ, जहाँ प्रतिबन्धका कारण बालगुन खेल्न पाउने छैनन्।
असार १८, २०८३ बिहीबार ०९:१७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।