विश्वकप इतिहासकै सबैभन्दा ढिलो गोल र भीएआरको ७ मिनेट लामो सस्पेन्स अनि बेल्जियमको नाटकीय जित
एजेन्सी : विश्वकप फुटबलको एक रोमाञ्चक र नाटकीय खेलमा बेल्जियमले सेनेगलमाथि ३-२ को सनसनीपूर्ण पुनरागमन जित दर्ता गरेको छ।
दुई गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियम प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो।
खेलको अतिरिक्त समयको अन्तिम मिनेट (१२५औँ मिनेट)मा बेल्जियमका कप्तान युरी टिलेमान्सले पेनाल्टीमार्फत निर्णायक गोल गरे।
यो विश्वकप इतिहासकै सबैभन्दा ढिलो समयमा भएको गोल बन्न पुगेको छ। अब बेल्जियमले क्वाटरफाइनल प्रवेशका लागि अमेरिका वा बोस्निया-हर्जगोभिनामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
सेनेगलको बलियो सुरुवात
खेलको सुरुवातदेखि नै अफ्रिकी टोली सेनेगलले बेल्जियममाथि दबाब बनाएको थियो।
खेलको २५औँ मिनेटमा हबिब डियाराले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाए। इस्माइला सारको हेडर पोस्टमा लागेर फर्किएपछि डियाराले त्यसलाई सहजै गोलको दिशा दिएका थिए।
दोस्रो हाफको सुरुवातमै अर्थात् ५१औँ मिनेटमा सारले उत्कृष्ट गोल गर्दै सेनेगलको अग्रता दोब्बर बनाए। मुसा नियाखातेको लामो पासलाई नियन्त्रणमा लिँदै उनले बेल्जियमका गोलकिपर थिबाउट कोर्टुवालाई बिट गरेर उत्कृष्ट गोल गरेका थिए।
बेल्जियमको उत्कृष्ट पुनरागमन
खेल सकिन ४ मिनेट मात्र बाँकी रहँदा बेल्जियम २-० ले पछि थियो र टोली प्रतियोगिताबाट बाहिरिने सङ्घारमा पुगेको थियो।
बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले दोस्रो हाफमा मैदान प्रवेश गराएका स्ट्राइकर रोमेलु लुकाकुले टोलीको उद्धार गरे। ८६औँ मिनेटमा थोमस मुनिएरको क्रसलाई सदुपयोग गर्दै लुकाकुले गोल गरेर बेल्जियमलाई खेलमा फर्काए।
त्यसको तीन मिनेटपछि, अर्थात् ८९औँ मिनेटमा लियान्द्रो ट्रोसार्डको क्रसलाई सेनेगलका गोलकिपर मोरी डियाउले नियन्त्रणमा लिन नसक्दा कप्तान टिलेमान्सले हेडमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्याए।
रोचक कुरा के छ भने, खेलको दोस्रो हाफको हाइड्रेशन ब्रेकमा टिलेमान्स र ट्रोसार्डबीच मैदानमै विवाद भएको थियो, जसलाई लुकाकुले बीचमा परेर साम्य पारेका थिए। तिनै दुई खेलाडीको सहकार्यमा बेल्जियमले बराबरी गोल फर्कायो।
भीएआर र १२५औँ मिनेटको नाटक
खेल अतिरिक्त समयमा पुगेपछि दुवै टोलीले सतर्कतापूर्वक खेले।
तर अतिरिक्त समयको अन्तिम क्षणमा बेल्जियमका डोडी लुकेबाकियोको प्रहार क्रसबारमा लागेर फर्कियो। त्यसअघि नै बक्सभित्र लामिन कामाराले टिलेमान्सलाई लडाएका थिए।
भिडियो असिस्टेन्ट रेफ्रीले करिब ७ मिनेट लामो समय लगाएर गरेको पुनरावलोकनपछि बेल्जियमलाई पेनाल्टी दिने निर्णय गर्यो।
१२५औं मिनेटमा कप्तान टिलेमान्सले उक्त पेनाल्टीलाई दायाँ कुनाको माथिल्लो जालीमा प्रहार गर्दै टोलीलाई ३-२ को ऐतिहासिक जित दिलाए।
जितसँगै बेल्जियम सन् २०१८ पछि विश्वकपको नकआउट चरणमा दुई गोलले पछि परेको अवस्था उल्टाएर जित्ने पहिलो टोली बनेको छ।
सन् २०१८ को विश्वकपमा पनि बेल्जियमले जापानविरुद्ध २-० ले पछि परेको स्थिति उल्टाएर ३-२ को जित निकालेको थियो। विश्वकप इतिहासमा यस्तो दुई पटक गर्ने बेल्जियम (जर्मनीपछि) दोस्रो टोली बनेको छ।
अर्कोतर्फ, उत्कृष्ट प्रदर्शनका बाबजुद अन्तिम समयमा सम्हालिन नसक्दा सेनेगलले भने ठूलो अवसर गुमाएको छ र टोली प्रतियोगिताबाट बाहिरिएको छ।
असार १८, २०८३ बिहीबार ०७:२२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।