मेक्सिकन समर्थकबाट इक्वेडरका खेलाडी हैरान; होटल बाहिर रातभर स्पिकर, हर्न र मोटरसाइकलको चर्को आवाज

मेक्सिकन समर्थकबाट इक्वेडरका खेलाडी हैरान; होटल बाहिर रातभर स्पिकर, हर्न र मोटरसाइकलको चर्को आवाज

एजेन्सी : विश्वकप २०२६ को नकआउट चरणको महत्त्वपूर्ण खेलअघि मेक्सिकन फुटबल समर्थकहरूले विपक्षी टोली इक्वेडरका खेलाडीहरूको निद्रा बिथोल्ने प्रयास गरे।

मेक्सिको सिटीको बाहिरी इलाकामा रहेको ‘वेस्टिन होटल’ बाहिर मध्यरातदेखि बिहान सबेरैसम्म दर्जनौं मेक्सिकन समर्थकहरूले चर्को हल्ला गरेर खेलाडीहरूलाई सुत्न दिएनन्।

समर्थकहरूले होटल बाहिर ठूलो आवाज आउने स्पिकर, हर्न र मोटरसाइकलको आवाज प्रयोग गरेर इक्वेडरका खेलाडीहरूको आराममा बाधा पुर्याए।

ल्याटिन अमेरिकी फुटबलमा विपक्षी टोली बसेको होटल बाहिर रातभर हल्ला गर्ने विषयलाई एउटा परम्पराका रूपमा लिइन्छ।

सुरुमा आफ्ना खेलाडीलाई प्रोत्साहन गर्न सुरु गरिएको यो अभ्यास पछिल्लो समय विपक्षी टोलीको निद्रा बिगार्ने र उनीहरूलाई मनोवैज्ञानिक रूपमा कमजोर बनाउने हतियारका रूपमा प्रयोग हुन थालेको छ।

इक्वेडर फुटबल सङ्घद्वारा औपचारिक उजुरी
यस घटनालाई लिएर इक्वेडर फुटबल संघले विश्वकप आयोजक समक्ष औपचारिक उजुरी दर्ता गराएको छ।

इक्वेडर फुटबल सङ्घले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘समर्थकहरूको यस्तो व्यवहार विश्वकपले बोक्नुपर्ने खेल भावना, समानता र एकताको सिद्धान्तविपरीत छ। हामी सम्बन्धित अधिकारीहरूलाई यस्ता घटनाप्रति संवेदनशील हुन र हाम्रा खेलाडी, प्रशिक्षक तथा समर्थकहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गर्दछौँ।’

समर्थकहरूको यो अवरोध हुनुअघि नै इक्वेडरको टोलीले मेक्सिको आइपुग्न ठुलो सास्ती खेप्नुपरेको थियो।

मेक्सिको सिटी समुद्री सतहदेखि २२ सय मिटरको उचाइमा रहेकाले त्यहाँको पातलो हावा र उचाइका कारण हुने स्वास्थ्य समस्याबाट बच्न इक्वेडरले अन्तिम समयमा मात्र मेक्सिको पुग्ने ‘फ्लाई-इन, फ्लाई-आउट’ रणनीति अपनाएको थियो।

तर अमेरिकाको कोलम्बसबाट उडेको उनीहरूको विमान झन्डै ३ घण्टा ढिलो भयो। इक्वेडरका मुख्य प्रशिक्षक सेबास्टियन बेकासेसेले यात्रा निकै कष्टकर बनेको गुनासो गरे।

बेकासेसेले भने, ‘सुरुमा उडान ढिलो भयो, त्यसपछि होटलसम्म पुग्ने यात्रा। निर्धारित समयभन्दा ३ घण्टा बढी समय लागेर यो यात्रा अन्ततः ९ घण्टाको बन्न पुग्यो। यद्यपि, टोली उत्साहित छ र समूह चरणमा राम्रो नतिजा ल्याएको बलियो प्रतिद्वन्द्वीको सामना गर्न तयार छ।’

विमान ढिलो हुनुका साथै इक्वेडरको टोली होटलभन्दा ६५ किलोमिटर टाढा रहेको फेलिप एन्जेल्स अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। त्यहाँबाट होटल पुग्न उनीहरूले मेक्सिको सिटीको अत्यधिक ट्राफिक जाम र भारी वर्षाको सामना गर्नुपरेको थियो।

हवाई यात्राको थकाइ र सडकको जाम बेहोरेर होटल पुगेका खेलाडीहरूलाई रातभर मेक्सिकन समर्थकहरूले सुत्न नदिएपछि इक्वेडरको तयारी प्रभावित हुन पुगेको थियो। यसको नतिजा खेलमा पनि देखियो। मेक्सिकोले २-० ले खेल जितेर अन्तिम १६ मा स्थान बनाउँदा इक्वेडर घर फर्किन बाध्य भयो।

असार १७, २०८३ बुधबार १३:०९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।