इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा, क्विनोनेसले बनाए रेकर्डै रेकर्ड

इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा, क्विनोनेसले बनाए रेकर्डै रेकर्ड

एजेन्सी : सह-आयोजक मेक्सिको सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। एस्टेका स्टेडियममा भएको रोमाञ्चक नकआउट खेलमा इक्वेडरलाई २-० ले पराजित गर्दै मेक्सिकोले प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।

जितसँगै मेक्सिकोले विश्वकपको नकआउट चरणमा जित निकाल्नका लागि गरेको ४० वर्ष लामो प्रतीक्षासमेत समाप्त भएको छ। साथै, विश्वकप इतिहासमा दक्षिण अमेरिकी राष्ट्रलाई नकआउट चरणबाट बाहिर पठाउने मेक्सिको पहिलो उत्तर-मध्य अमेरिकी राष्ट्र बनेको छ।

मेक्सिको सिटीमा आएको भीषण आँधीबेहरी र चट्याङका कारण खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको थियो। तर खेल सुरु भएसँगै घरेलु टोलीले आक्रामक रूप लियो।

मेक्सिकोका लागि १७ वर्षीय युवा खेलाडी गिल्बर्टो मोराको प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो भने खेलको सुरुवाती १५ मिनेटमा मेक्सिकोले गोलका ६ वटा प्रयास गरिसकेको थियो।

खेलको २२औं मिनेटमा रोबर्टो अल्भाराडोको पासमा जुलियन क्विनोनेसले उत्कृष्ट गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए। त्यसको ९ मिनेटपछि अर्थात् ३१औं मिनेटमा क्विनोनेसकै पासमा उल्भ्सका फरवार्ड राउल जिमेनेजले दोस्रो गोल गर्दै मेक्सिकोको जित सुनिश्चित गरे।

इक्वेडरविरुद्धको खेलमा १ गोल र १ असिस्ट गरेका २९ वर्षीय विङ्गर क्विनोनेसले मेक्सिकन फुटबल इतिहासमा थुप्रै कीर्तिमानहरू बनाएका छन्।

उनी सन् १९९८ मा लुइस हर्नान्डेजपछि एउटै विश्वकपका तीन फरक खेलमा गोल गर्ने दोस्रो मेक्सिकन खेलाडी बनेका छन् भने एकै विश्वकप संस्करणमा सबैभन्दा बढी गोल (४ गोल योगदान) गर्ने हर्नान्डेजकै मेक्सिकन कीर्तिमानको बराबरी गरेका छन्।

सन् १९८६ मा बुल्गेरियाविरुद्ध म्यानुएल नेग्रेतेपछि विश्वकपको नकआउट खेलमा गोल र असिस्ट दुवै गर्ने उनी दोस्रो मेक्सिकन खेलाडी बनेका छन्।

मेक्सिकोको मजबुत डिफेन्स
जारी विश्वकपमा मेक्सिकोको डिफेन्स अत्यन्तै मजबुत देखिएको छ। टोलीले अहिलेसम्म प्रतियोगितामा विपक्षीलाई एउटै पनि गोल गर्न दिएको छैन।

सन् १९९४ यता विश्वकपका सुरुवाती चारवटै खेलमा ‘क्लिन सिट’ राख्ने मेक्सिको दोस्रो टोली बनेको छ। यसअघि सन् २००६ मा स्विट्जरल्याण्डले मात्र यो उपलब्धि हासिल गरेको थियो।

मेक्सिकोले विश्वकपका पछिल्ला १५ खेलको पहिलो हाफमा कुनै गोल बेहोरेको छैन। यो विश्वकप इतिहासकै दोस्रो लामो कीर्तिमान हो।

यसअघि इङ्गल्याण्डले सन् १९८२ देखि १९९८ सम्म लगातार १९ खेलको पहिलो हाफमा गोल बेहोरेको थिएन। मेक्सिकोले पछिल्लो पटक सन् २०१० मा अर्जेन्टिनाविरुद्ध पहिलो हाफमा गोल बेहोरेको थियो।

दोस्रो हाफमा इक्वेडरको प्रयास र रेड कार्ड
इक्वेडरका लागि पहिलो हाफमा जोन येबोआको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।

दोस्रो हाफमा इक्वेडरले केही सुधारिएको प्रदर्शन गरे पनि मेक्सिकोको डिफेन्सले उनीहरूलाई एउटै पनि ‘सट अन टार्गेट’ प्रहार गर्ने अवसर दिएन। खेलको अपेक्षित गोलको तथ्याङ्कमा मेक्सिकोको १.०२ का विरुद्ध इक्वेडरको ०.७३ रहेको थियो।

खेलको इन्जुरी समयमा इक्वेडरका डिफेन्डर पिएरो हिन्कापीले रेड कार्ड पाउँदा टोली १० खेलाडीमा समेटिएको थियो। मेक्सिकोका खेलाडी सान्टियागो जिमेनेजसँग कुरा गर्ने क्रममा आफ्नो मुख छोपेका कारण हिन्कापीलाई भिडियो असिस्टेन्ट रेफ्रीको निर्णयपछि मैदान बाहिर पठाइएको थियो।

२० वर्षपछि पहिलोपटक विश्वकपको समूह चरण पार गरेको इक्वेडरको यात्रा पहिलो नकआउट खेलमै टुङ्गिएको छ।

जाभियर अगिरेको प्रशिक्षणमा रहेको मेक्सिकोले अब क्वार्टरफाइनल प्रवेशका लागि आगामी आइतबार राति मेक्सिको सिटीमै इंग्ल्याण्ड वा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

असार १७, २०८३ बुधबार १०:१६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।