मुख छोपेर बोलेपछि इक्वेडरका हिन्कापीलाई रेड कार्ड
एजेन्सी : मेक्सिकोविरुद्धको खेलको अन्तिम समयमा इक्वेडरका डिफेन्डर पिएरो हिन्कापीले रेड कार्ड पाएका छन्।
खेलको अतिरिक्त समयमा (९०+५ मिनेट) हिन्कापीले रेड कार्ड पाएपछि इक्वेडरले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको छ। खेलमा मेक्सिको २-० ले विजयी भएको छ।
खेलको ९०+४औं मिनेटमा विपक्षी खेलाडीसँगको विवादका क्रममा हिन्कापीले आफ्नो मुख छोपेर केही बोलेका थिए। सोही घटनालाई लिएर भिडियो असिस्टेन्ट रेफ्री (VAR) ले मैदानमा भएको गतिविधिको तत्काल चेक गरेको थियो।
भीएआरको चेकपछि रेफ्रीले हिन्कापीलाई सोझै रेड कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।
केही दिनअघि मात्र पाराग्वेका मिगुएल आल्मिरोनले पनि यस्तै अनुशासनहीन व्यवहारका कारण कडा सजाय भोगेका थिए। सोही प्रकृतिको गल्ती दोहोर्याएका कारण हिन्कापीको यो रेड कार्डको निर्णयमा प्रश्न उठाउने ठाउँ नरहेको खेल विश्लेषकहरूले टिप्पणी गरेका छन्।
यो रेड कार्डसँगै जारी प्रतियोगितामा मेक्सिको सिटीमा देखाइएको रातो कार्डको सङ्ख्या चार पुगेको छ।
असार १७, २०८३ बुधबार ०९:५५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।