मौसमका कारण विश्वकपका खेलमा ढिलाइ, इक्वेडरद्वारा मेक्सिकन समर्थकविरुद्ध उजुरी
एजेन्सी : विश्वकप अन्तर्गत मेक्सिको र इक्वेडरबीच मेक्सिको सिटीको ऐतिहासिक एज्टेका रङ्गशालामा हुने खेल खराब मौसमका कारण केही समय ढिलाइ भएको छ।
रङ्गशाला र आसपासको क्षेत्रमा भारी वर्षासँगै चट्याङ पर्न थालेपछि पूर्वनिर्धारित समयभन्दा ढिलो गरी मात्र खेल सुरु हुने निश्चित भएको हो।
खेल नेपाली समय अनुसार बिहान पौने ७ बजे सुरु हुने तय भए पनि मौसम प्रतिकूल बनेपछि यसलाई केही समय पछि सारिएको थियो। आँधी र चट्याङको प्रभाव कम भएपछि खेलाडीहरूलाई मैदानमा वार्म-अप (अभ्यास) का लागि अनुमति दिइएको छ।
खेल सुरु हुनुअघि इक्वेडर फुटबल महासंघले विश्वकप आयोजकहरू समक्ष मेक्सिकन समर्थकहरूको व्यवहारलाई लिएर औपचारिक उजुरी दर्ता गराएको छ।
सोमबार राति मेक्सिको सिटीस्थित इक्वेडर टोली बसेको होटल बाहिर करिब एक हजारको सङ्ख्यामा उपस्थित मेक्सिकन समर्थकहरूले भाँडाकुँडा ठटाउँदै र ठूलो आवाजमा संगीत बजाएर खेलाडीहरूलाई बाधा पुर्याएको बताइएको छ।
इक्वेडरको फुटबल महासंघले एक विज्ञप्ति जारी गर्दै यस प्रकारको व्यवहार ‘फेयर प्ले’विपरीत रहेको जनाएको छ। यद्यपि, टोलीले यसको जवाफ मैदानमै दिने र यस खेलले दुई देशबीचको एकतालाई कायम राख्ने विश्वास व्यक्त गरेको छ।
उत्साहका साथ मैदान उत्रँदै इक्वेडर र मेक्सिको
जर्मनीलाई २-१ ले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको इक्वेडर ऐतिहासिक जितको उत्साहका साथ मैदानमा ओर्लँदै छ।
जर्मनीविरुद्धको उक्त जितपछि इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआले देशमा राष्ट्रिय बिदा समेत घोषणा गरेका थिए। प्रशिक्षक सेबास्टियन बेकासेसले जर्मनीविरुद्ध खेलेको टोलीलाई नै यस खेलमा पनि यथावत् राखेका छन्। यस खेलका लागि मोइसेस काइसेडोलाई एनेर भ्यालेन्सियाको स्थानमा टोलीको स्थायी कप्तान तोकिएको छ।
अर्कोतर्फ, मेक्सिकोका प्रशिक्षक हाभियर अगिरेले अघिल्लो खेलको तुलनामा टोलीमा चारवटा परिवर्तन गरेका छन्। चेक रिपब्लिकविरुद्ध खेलेको टोलीबाट जिसस गालार्डो, एरिक लिरा, जोहान भास्क्वेज र राउल जिमेनेज टोलीको सुरुवाती ११ मा फर्किएका छन्।
समर्थकहरूको उत्साहजनक उपस्थिति
यस महत्त्वपूर्ण खेललाई लिएर उत्तर अमेरिकाभरिका खेल प्रेमीहरूमा निकै ठूलो उत्साह देखिएको छ।
अमेरिकाको टेक्सासस्थित फ्यान पार्कहरू मेक्सिकन समर्थकहरूले भरिएका छन् भने न्यूयोर्कको टाइम्स स्क्वायरमा इक्वेडरका समर्थकहरू पहेँलो जर्सीमा सजिएर टोलीको हौसला बढाउन भेला भएका छन्। लॉस एन्जलसको मेक्सिकन फ्यान जोनमा पनि सयौँ समर्थकहरू आफ्नो टोलीको समर्थनमा जुटेका छन्।
यस खेलको विजेताले अन्तिम १६ को खेलमा इङ्गल्याण्ड र प्रजातान्त्रिक गणतन्त्र कङ्गोबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
असार १७, २०८३ बुधबार ०७:४३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।