एम्बाप्पेको कीर्तिमानी गोलसँगै फ्रान्सद्वारा स्विडेन पराजित, अन्तिम १६ मा पराग्वेसँग भेट पक्का
एजेन्सी : स्टार स्ट्राइकर किलियन एम्बाप्पेको दुई गोलको मद्दतले फ्रान्सले स्विडेनलाई ३-० ले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। यस जितसँगै फ्रान्सले अब क्वाटरफाइनल प्रवेशका लागि पराग्वेसँगको भेट पक्का गरेको छ।
यस खेलमा दुई गोल गरेसँगै २५ वर्षका एम्बाप्पे विश्वकपको नकआउट चरणको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्।
नकआउट चरणमा उनको गोल सङ्ख्या १० पुगेको छ, जसका साथ उनले ब्राजिलका रोनाल्डो नाजारियो र लियोनिडास (८-८ गोल) को कीर्तिमानलाई पछि पारेका हुन्।
न्यु जर्सीको अत्यधिक गर्मीका बीच सुरु भएको खेलमा फ्रान्सले सुरुदेखि नै दबाब कायम राखेको थियो। खेलको २०औँ मिनेटमा एम्बाप्पेले बललाई जाली चुमाए पनि रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएका थिए।
त्यसको केही समयपछि नै एम्बाप्पेको प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो। खेलको पहिलो हाफको अतिरिक्त समयमा उसमान डेम्बेलेको पासलाई नियन्त्रणमा लिँदै एम्बाप्पेले उत्कृष्ट गोल गरी फ्रान्सलाई सुरुवाती अग्रता दिलाए।
दोस्रो हाफमा पनि फ्रान्सले आफ्नो लयलाई कायम राख्यो। ५३औँ मिनेटमा माइकल ओलिसेको चलाखीपूर्ण पासमा ब्राडली बारकोलाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
खेलको ७४औँ मिनेटमा ओलिसेकै अर्को उत्कृष्ट पासलाई सदुपयोग गर्दै एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।
ओलिसेले यस प्रतियोगितामा व्यक्तिगत पाँचौँ असिस्ट (गोलका लागि पास) पूरा गरेका छन्, जुन सन् १९९४ मा जर्मनीका थोमस हास्लरपछि कुनै पनि खेलाडीले एकै विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शन हो।
स्विडेनका तर्फबाट एलिएट स्ट्राउड र भिक्टर ग्योकेरेसले गोल गर्ने केही अवसरहरू पाए पनि तिनलाई सदुपयोग गर्न सकेनन्।
स्विडेनका केही प्रहारलाई फ्रान्सेली गोलकिपर माइक म्यान्याँले विफल तुल्याइदिए भने फ्रान्सका तर्फबाट भएका अन्य केही सशक्त प्रहारलाई स्विडेनका गोलकिपर ज्याकब विडेल जेटरस्ट्रोमले उत्कृष्ट बचाउ गरे।
यस जितसँगै एम्बाप्पे जारी विश्वकपको गोल्डेन बुटको दौडमा ६ गोलसहित अर्जेन्टिनाका लियोनेल मेस्सीसँगै संयुक्त रूपमा शीर्ष स्थानमा उक्लिएका छन्।
विश्वकपको इतिहासमा एम्बाप्पेको कुल गोल सङ्ख्या १८ पुगेको छ र उनी मेस्सीको कुल गोल सङ्ख्या (१९) भन्दा मात्र एक गोलले पछि छन्।
पारिवारिक शोकका कारण केही समय टोलीबाट टाढा रहेका फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्प्स यस खेलका लागि डगआउटमा फर्किएका थिए। जितपछि एम्बाप्पेले प्रशिक्षक डेसच्याम्प्सलाई अँगालो हालेर खुसी साटेका थिए।
जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अघि बढेको पराग्वे र फ्रान्सबीचको अन्तिम १६ को खेल आगामी शनिबार, ४ जुलाईमा फिलाडेल्फियामा हुनेछ।
असार १७, २०८३ बुधबार ०७:२६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।