भेनेजुएला भूकम्पमा अर्जेन्टिनी फुटबल खेलाडीले श्रीमतीसहित दुई सन्तान गुमाए

भेनेजुएला भूकम्पमा अर्जेन्टिनी फुटबल खेलाडीले श्रीमतीसहित दुई सन्तान गुमाए

एजेन्सी : भेजेनुएलामा आएको शक्तिशाली भूकम्पमा परेर एक अर्जेन्टिनी फुटबल खेलाडीले सिङ्गो परिवार नै गुमाएका छन्।

भेनेजुएलाको दोस्रो डिभिजन क्लब ‘क्लब स्पोर्ट मारिटिमो ला गुइरा’का ३८ वर्षीय खेलाडी लुकास ट्रेजोकी श्रीमती यानिना र दुई सन्तान (छोरा आरोन र छोरी आइन्होआ) को भूकम्पमा भत्किएको घरको भग्नावशेषमा पुरिएर मृत्यु भएको हो।

भूकम्प गएका बेला ट्रेजो राजधानी काराकासमा आफ्नो टोलीको प्रशिक्षण शिविरमा थिए। भूकम्पको खबर सुन्नासाथ उनी १८ माइल उत्तरमा रहेको आफ्नो घर ला गुइरा पुगेका थिए। त्यहाँ पुग्दा उनको समुद्र किनारमा रहेको घर पूर्ण रूपमा भत्किइसकेको थियो।

ट्रेजोले लगातार तीन दिनसम्म आफ्ना परिवारका सदस्यहरूको खोजीमा भग्नावशेष पन्छाउँदै संघर्ष गरे। पर्याप्त उद्धार उपकरण नहुँदा उनका साथीहरू र सहकर्मी खेलाडीहरूले भिडियोमार्फत ठूला मेसिनहरू उपलब्ध गराउन सामाजिक सञ्जालमा अपिल समेत गरेका थिए।

तर, आइतबार उनको क्लबले सामाजिक सञ्जालमार्फत दुःखद खबर साझा गर्दै ट्रेजोको परिवारको निधन भएको पुष्टि गर्यो। क्लबले ट्रेजोप्रति समवेदना प्रकट गर्दै लेखेको छ, ‘लुकास, तिमी एक्लो छैनौ। तिम्रो मारिटिमो ला गुइरा परिवार तिम्रो साथमा छ।’

खेल क्षेत्रमा ठूलो वज्रपात
यस प्राकृतिक विपद्ले भेनेजुएलाको फुटबल जगतमा अपूरणीय क्षति पुर्याएको छ।

दोहामा भएको यू-१७ विश्वकप खेलेका १८ वर्षीय उदयीमान खेलाडी यिमभर्ट बेरोटेरानको पनि यसै भूकम्पमा परेर निधन भएको छ। उनीसँगै अन्य दुई युवा खेलाडीहरू भिक्टर पालासिओस र रजान सिजाले पनि ज्यान गुमाएका छन्।

अर्का खेलाडी हेक्टर बेलोकी श्रीमतीले आफ्नो सानो बच्चालाई छातीमा लुकाएर बचाउने क्रममा ज्यान गुमाएकी छिन्।

बेलोले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म छोरीलाई तिमी कति महान थियौ र उसलाई कति माया गर्थ्यौ भनेर सधैं सम्झाइरहनेछु।’

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ३९ सेकेन्डको अन्तरालमा दुईवटा ठूला भूकम्प गएका थिए। सरकारी तथ्याङ्क अनुसार हालसम्म १४ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने हजारौं बेपत्ता छन्। मृतकहरूमा विदेशी नागरिक पनि छन्, जसमा ८ चिनियाँ र ९ स्पेनी नागरिक रहेको पुष्टि भएको छ।

भूकम्प गएको ७२ घण्टाभन्दा बढी समय बितिसकेको छ। यो समयलाई जीवितै उद्धारका लागि सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। समय घर्किँदै जाँदा भग्नावशेषमा पुरिएका मानिसहरू जीवितै भेटिने सम्भावना कम हुँदै गए पनि उद्धारकर्मीहरूले खोजी कार्य जारी राखेका छन्।

असार १६, २०८३ मंगलबार १२:५१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।