जन्मनै नपाएको छोराका लागि एउटा ‘आँसुको गोल’, मैदानमै भक्कानिए कोडी गाक्पो

जन्मनै नपाएको छोराका लागि एउटा ‘आँसुको गोल’, मैदानमै भक्कानिए कोडी गाक्पो

एजेन्सी : फुटबल मैदान सामान्यतया जितको उत्सव र खुसीको मञ्च बन्ने गर्छ, तर कहिलेकाहीँ त्यही मैदान गहिरो पीडा र आँसुको साक्षी पनि बनिदिन्छ।

विश्वकपको मञ्चमा नेदरल्यान्ड्स र मोरक्कोबीचको खेलमा डच स्ट्राइकर कोडी गाक्पोको हकमा यस्तै एउटा हृदयविदारक दृश्य देखियो।

गर्भमै रहेको छोरा गुमाएको अकल्पनीय पीडा छातीभित्र दबाएर मैदान उत्रिएका गाक्पोले जब गोल गरे, तब उनले आफ्ना आँसु रोक्न सकेनन्।

२७ वर्षीय लिभरपुलका फरवार्ड गाक्पो र उनकी जीवनसङ्गिनी नोआ भान डेर बिजले आउँदो अक्टोबरमा आफ्नो दोस्रो सन्तानलाई संसारमा स्वागत गर्ने तयारी गरिरहेका थिए। तर, गत शनिबार मात्रै उनीहरूमाथि एउटा बज्रपात पर्यो।

नोआले सामाजिक सञ्जालमा एउटा सानो टोपी र कपडामाथि आफूहरूले हात समातेको तस्बिर साझा गर्दै गर्भमै छोराको मृत्यु भएको हृदयविदारक खबर सार्वजनिक गरिन्।

उनले लेखेकी थिइन्, ‘टुटेको मुटुका साथ हामी यो दुःखद खबर बाँड्दैछौँ कि गर्भधारणकै क्रममा हाम्रा प्यारा छोराको मृत्यु भयो। एलिजाह राफेल गाक्पो, तिमी सधैं हाम्रो मुटुमा जीवित रहनेछौ। सधैं हाम्रा छोरा रहनेछौ।’

घरमा ठूलो बज्रपात पर्दा पनि गाक्पोले देशका लागि खेल्ने साहस देखाए र टोलीसँगै मैदान उत्रिए।

मोरक्कोविरुद्धको खेलको ७२औं मिनेटमा उनले नेदरल्यान्ड्सका लागि सुरुवाती गोल गरे। गोल गरेलगत्तै उनी मैदानमा घुँडा टेकेर भक्कानिए।

आँखाबाट बगेका आँसु र उनको मलिन अनुहारले भित्री पीडा बोलिरहेको थियो। त्यस कठिन घडीमा डच खेलाडीहरूले उनलाई घेरेर अंगालो हाले र सहानुभूति प्रकट गरे।

नेदरल्यान्ड्स तथा लिभरपुलका कप्तान भर्जिल भान डाइकले गाक्पोलाई अंगालो हालेर मैदानको बीचभागसम्म डोर्याएको दृश्यले रंगशालामा उपस्थित र टेलिभिजन स्क्रिनमा हेरिरहेका लाखौं दर्शकका आँखा रसाए।

गाक्पोले देशका लागि गोल गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। उनले पूर्ण रुपमा खेल पनि खेल्न पाएनन्।

खेलको ११३औं मिनेटमा मांसपेशीको समस्याका कारण उनी मैदानबाट बाहिरिन बाध्य भए। अन्ततः नेदरल्यान्ड्स पेनाल्टी सुटआउटमा मोरक्कोसँग पराजित हुँदै विश्वकपबाट बाहिरियो।

असार १६, २०८३ मंगलबार १२:०३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।