ड्रामाटिक पेनाल्टी सुटआउट : नेदरल्यान्ड्सले तीन पेनाल्टी मिस गर्दा मोरक्को अन्तिम १६ मा

ड्रामाटिक पेनाल्टी सुटआउट : नेदरल्यान्ड्सले तीन पेनाल्टी मिस गर्दा मोरक्को अन्तिम १६ मा

काठमाडौं : विश्वकप फुटबल २०२६ अन्तर्गत एस्टाडियो मोन्टेरीमा भएको रोमाञ्चक खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ।

निर्धारित र अतिरिक्त समय (१२० मिनेट) सम्म खेल १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमार्फत मोरक्को ३-२ ले विजयी भएको हो। अब मोरक्कोले अन्तिम १६ को खेलमा सह-आयोजक क्यानडाको सामना गर्नेछ।

खेलको ७२औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, खेल सकिनै लाग्दा इन्जुरी समयको ९१औं मिनेटमा मोरक्कोका इसा डियोपले उत्कृष्ट हेडरमार्फत बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा दुवै तर्फबाट थप गोल हुन नसकेपछि विजेताको निर्णय पेनाल्टी सुटआउटबाट गरियो।

पेनाल्टी सुटआउटको ड्रामा
पेनाल्टी सुटआउट निकै उतारचढावपूर्ण र तनावग्रस्त रह्यो। दुवै टोलीका खेलाडीहरूले दबाबका कारण धेरै पेनाल्टीहरू मिस गरे।

पहिलो प्रहार गर्न आएका ट्युन कुपमेइनर्सले मोरक्कोका गोलकिपर यासिन बोनोलाई छक्काउँदै उत्कृष्ट गोल गर्दा मोरक्कोका नील एल आयनाउईले प्रहार गरेको बल क्रसबारमा लागेर बाहिरियो। नेदरल्यान्ड्सले सुरुवाती अग्रता लियो।

डच टोलीका जुस्टिन क्लुइभर्टको प्रहार पोस्टमा लागेर बाहिरिएपछि नेदरल्यान्ड्सले अग्रता दोब्बर बनाउने अवसर गुमायो भने सुफियान राहिमीको प्रहारलाई डच गोलकिपर बार्ट भर्ब्रूगेनले रोक्ने प्रयास गरे पनि बल उनको खुट्टा मुनिबाट छिर्दै गोललाइन पार भयो। खेल १-१ को बराबरीमा आयो।

अनुभवी स्ट्राइकर वोउट वेघोर्स्टले बलियो प्रहार गर्दै बललाई पोस्टको माथिल्लो कुनामा पुर्याउँदा चेम्सडाइन ताल्बीले उत्कृष्ट प्रहार गर्दै मोरक्कोलाई २-२ गोलको बराबरीमा ल्याए।

क्विन्टेन टिम्बरले प्रहार गरेको बल पोस्टभन्दा धेरै बाहिर गएपछि डच टोली दबाबमा पर्यो भने मोरक्कोका कप्तान अशराफ हाकिमीसँग टोलीलाई अग्रता दिलाउने सुवर्ण अवसर गुमाए।उनको प्रहार पोस्टमा लागेर फर्कियो।

यो बेलासम्म पनि पेनाल्टी सुटआउट २-२ कै बराबरीको अवस्थामा थियो। अब दुवै टिमका लागि अन्तिम १-१ बल थियो।

नेदरल्यान्ड्सका क्रिसेन्सियो समरभिलले ढिलो दौडिएर प्रहार गरेको कमजोर पेनाल्टीलाई मोरक्कोका गोलकिपर यासिन बोनोले सहजै बचाउँदा अब मोरक्कोका लागि अन्तिम बल बाँकी थियो।

अन्तिम प्रहार गर्न आएका इस्माइल साइबारीले गोलकिपर भर्ब्रूगेनलाई गलत दिशामा पठाउँदै सहजै गोल गरेर मोरक्कोको ऐतिहासिक जित निश्चित गरे। गोल गरेपछि साइबारीले आफ्नो जर्सी खोलेर समर्थकहरूसँग खुसीयाली मनाएका थिए।

पेनाल्टी प्रहारको स्तरमाथि टिप्पणी
पेनाल्टी सुटआउट रोमाञ्चक भए पनि खेलाडीहरूको प्रहारको स्तरलाई लिएर विश्लेषकहरूले आलोचना गरेका छन्।

बीबीसी रेडियो फाइभ लाइभका विश्लेषक तथा पूर्व खेलाडी क्लिन्टन मरिसनले भने, ‘यो उत्कृष्ट पेनाल्टी सुटआउट थिएन। खेलाडीहरूले ढिलो दौडिएर प्रहार गर्ने जुन शैली अपनाए, त्यो निकै फितलो थियो। सीधै गएर बल बलियोसँग प्रहार गर्नुपर्थ्यो। तर, जितको हकदार मोरक्को नै थियो।’

सामाजिक सञ्जालमा धेरै फुटबल समर्थकहरूले यस पेनाल्टी सुटआउटलाई ‘पेनाल्टी कसरी प्रहार गर्नु हुँदैन’ भनी सिकाउने खेलको रूपमा समेत चर्चा गरेका छन्।

पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सको इतिहास निकै कमजोर रहँदै आएको छ। उक्त टिमले विश्वकपका पछिल्ला चार पेनाल्टी सुटआउटमध्ये तीनवटा गुमाएको छ।

अर्कोतर्फ, मोरक्कोले २०२२ को विश्वकपमा स्पेनलाई पेनाल्टी सुटआउटमा पाखा लगाए जस्तै यस पटक पनि पेनाल्टीमा आफूलाई अब्बल साबित गर्यो।

असार १६, २०८३ मंगलबार १०:०१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।