नेदरल्यान्ड्स र मोरक्कोको खेल पेनाल्टी सुटआउटमा धकेलियो

नेदरल्यान्ड्स र मोरक्कोको खेल पेनाल्टी सुटआउटमा धकेलियो

एजेन्सी : विश्वकप फुटबल २०२६ अन्तर्गत नेदरल्यान्ड्स र मोरक्कोबीचको रोमाञ्चक खेल अतिरिक्त समय (१२० मिनेट) सम्म १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुने भएको छ।

मोन्टेरी स्टेडियममा भएको यस खेलको विजेताले अन्तिम १६ मा क्यानडाको सामना गर्नेछ।

खेलको ७२ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई १-० को अग्रता दिलाएका थिए। तर, खेल सकिनै लाग्दा इन्जुरी समयको ९१ औं मिनेटमा मोरक्कोका डिफेन्डर इसा डियोपले हेडरमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

थप गरिएको ३० मिनेटको समयमा मोरक्कोले गोल गर्ने केही राम्रा अवसर पाए पनि डच गोलकिपर बार्ट भर्ब्रूगेन बाधक बने। उनले मोरक्कोका सुफियान राहिमीको प्रहारलाई उत्कृष्ट ढङ्गले बचाएका थिए।

खेलका क्रममा नेदरल्यान्ड्सका गोलकर्ता गाक्पो मांसपेशीको समस्याका कारण ११३औं मिनेटमा मैदानबाट बाहिरिनु पर्यो भने मोरक्कोका इस्माइल साइबारी आँखा नजिकै चोट लागेर रक्ताम्मे भएका थिए।

मोरक्कोले खेलको दोस्रो हाफ र अतिरिक्त समयमा बलमाथि बढी नियन्त्रण राखे पनि थप गोल हुन नसक्दा खेल अन्ततः पेनाल्टी सुटआउटतर्फ धकेलिएको हो।

असार १६, २०८३ मंगलबार ०९:२८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।