‘भीएआरको एउटा निर्णयले जर्मनी विश्वकपबाट बाहिरियो’
एजेन्सी : विश्वकप फुटबल २०२६ अन्तर्गत पाराग्वेविरुद्धको खेलमा जर्मनीको एक महत्त्वपूर्ण गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले रद्द गरिदिएपछि फुटबल विश्लेषक र पूर्व खेलाडीहरूले यसको तीव्र आलोचना गरेका छन्।
अतिरिक्त समयको १२औं मिनेटमा जर्मनीका डिफेन्डर जोनाथन टाहले आकर्षक हेडरमार्फत गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाएका थिए।
तर भीएआरको हस्तक्षेपपछि रेफ्री जलाल जायेदले मैदानको छेउमा रहेको मनिटरमा भिडियो हेरेर उक्त गोललाई मान्यता दिएनन्।
के थियो घटना?
कर्नरबाट आएको बलमा गोल हुनुअघि जर्मनीका खेलाडी वाल्डेमार एन्टोनले पाराग्वेका गोलकिपर ओर्लान्डो गिललाई अवरोध (फाउल) गरेको भीएआरको दाबी थियो।
सामान्य सम्पर्कमै गोलकिपर गिल भुइँमा लडेका थिए र उठेर बल रोक्ने प्रयास गरेका थिए। रेफ्रीले यसैलाई फाउल मान्दै गोल रद्द गरिदिए।
यस निर्णयप्रति फुटबल जगतका चर्चित व्यक्तित्वहरूले असन्तुष्टि व्यक्त गरेका छन्। इङ्गल्यान्डका पूर्व कप्तान एलन शिएररले बीबीसीसँग कुरा गर्दै गोलकिपरले रेफ्री र भीएआरलाई झुक्याएको बताए।
उनले भने, ‘म यो निर्णयसँग कत्ति पनि सहमत छैन। यो फुटबल खेल हो जहाँ सामान्य शारीरिक सम्पर्क हुनु स्वाभाविक हो। गोलकिपर जसरी भुइँमा ढले, त्यो निकै कमजोर अभिनय थियो र रेफ्रीले गलत निर्णय गरे।’

जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानले पनि निर्णयप्रति आक्रोश व्यक्त गर्दै भने, ‘मेरो विचारमा त्यो कुनै फाउल नै थिएन। गोल रद्द गरिनु एउटा मजाक जस्तै हो।’
खेलका क्रममा सो निर्णयको विरोध गर्दा नागेल्सम्यानले पहेँलो कार्डसमेत पाएका थिए।
लिभरपुलका पूर्व म्यानेजर युर्गेन क्लोपले जर्मन टेलिभिजनमा टिप्पणी गर्दै क्लोपले यस गोललाई प्रिमियर लिग च्याम्पियन आर्सनलको गोल गर्ने शैलीसँग तुलना गरे।
उनले ठट्टा गर्दै भने, ‘यदि यो गोल अवैध हो भने आर्सनल कहिल्यै इङ्ग्लिस च्याम्पियन बन्ने थिएन। उनीहरूले आफ्ना ६० प्रतिशत गोल यसरी नै रक्षापंक्तिलाई ब्लक गरेर गरेका छन्। जर्मनीका लागि यो निर्णय निकै पीडादायी रह्यो।’
पूर्व प्रिमियर लिग रेफ्री ड्यारेन क्यानले पनि यो निर्णय निकै फितलो भएको र गोल रद्द गर्नका लागि पर्याप्त कारण नभएको टिप्पणी गरे।
उक्त विवादित निर्णयपछि खेल १-१ को बराबरीमै सकियो र पेनाल्टी सुटआउटमा पाराग्वे ४-३ ले विजयी हुँदै अन्तिम १६ मा प्रवेश गर्यो भने जर्मनी विश्वकपबाट बाहिरिन पुग्यो।
असार १६, २०८३ मंगलबार ०९:०१:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।