पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै चार पटकको विश्वकप विजेता जर्मनी बाहिरियो
एजेन्सी : चार पटकको विश्वकप विजेता जर्मनी सन् २०२६ को विश्वकपको राउन्ड अफ ३२ बाटै बाहिरिएको छ।
बोस्टन स्टेडियममा भएको रोमाञ्चक खेलमा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो।
निर्धारित र थप गरिएको समय (एक्स्ट्रा टाइम) सम्म खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
खेलको ४२औं मिनेटमा जुलियो एन्सिसाले हेडरमार्फत गोल गर्दै पाराग्वेलाई अप्रत्याशित अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै जर्मनीका लागि काइ हाभर्ट्जले बराबरी गोल फर्काए। उनले फ्लोरियन विर्ट्जको क्रसमा हेडरमार्फत गोल गरेका थिए।
थप गरिएको समयमा जर्मनीका जोनाथन टाहले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएन। जर्मनीका वाल्डेमार एन्टोनले पाराग्वेका गोलकिपर ओर्लान्डो गिललाई फाउल गरेको भन्दै रेफ्रीले उक्त गोल रद्द गरिदिएका थिए।
पेनाल्टी सुटआउटमा जर्मनीका काइ हाभर्ट्ज र निक वोल्टेमाडेको प्रहार पाराग्वेका गोलकिपर गिलले बचाएका थिए।
पाराग्वेका तर्फबाट एन्टोनियो सानाब्रिया र फाबियन बाल्बुएना गोल गर्न चुके। बाल्बुएनाको प्रहारलाई जर्मनीका ४० वर्षीय भेट्रान गोलकिपर मानुएल नोयरले रोकेका थिए।
तर, 'सडेन डेथ' मा जर्मनीका जोनाथन टाहको प्रहार क्रसबार भन्दा माथिबाट बाहिरियो। त्यसपछि पाराग्वेका डिफेन्डर जोसे कानालेले प्रहारलाई सफलतापूर्वक गोलमा परिणत गर्दै आफ्नो टोलीलाई अन्तिम १६ मा पुर्याए।
विश्वकपको इतिहासमा जर्मनी पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो पटक हो। यसअघिका चारवटै विश्वकप पेनाल्टी सुटआउटमा जर्मनी विजयी भएको थियो।
जर्मनीले सन् १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप जितेको थियो। तर, पछिल्ला तीनवटा विश्वकपमा जर्मनीको प्रदर्शन बिर्सनलायक रहेको छ।
सन् २०१८ र २०२२ मा समूह चरणबाटै बाहिरिएको जर्मनी यस पटक अन्तिम १६ मा प्रवेश गर्नुअघि नै बाहिरिन पुग्यो। फिफा वरीयतामा जर्मनी भन्दा ३१ स्थान तल (४१ औं स्थानमा) रहेको पाराग्वेविरुद्धको यो हार जर्मनीका लागि ठूलो धक्का मानिएको छ।
अब पाराग्वेले फिलाडेल्फियामा हुने अन्तिम १६ को खेलमा फ्रान्स वा स्विडेनमध्ये एक टोलीको सामना गर्नेछ।
असार १६, २०८३ मंगलबार ०७:१८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।