नेपालको फुटबल राजनीति : कसले गरायो एन्फालाई निलम्बन ?

नेपालको फुटबल राजनीति : कसले गरायो एन्फालाई निलम्बन ?
तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

विश्वकप २०२६ नकआउट चरणमा प्रवेश गरेसँगै नयाँ र पुरानो टिम खेल आफ्नो पक्षमा पार्न प्रयासरत छन्। तर विश्व फुटबल चलिरहँदा यता नेपाली फुटबल भने फिफाको प्रतिबन्धमा छ। विश्वकपका खेलहरू र नेपाली फुटबलको अवस्थाबारे उकेराको विश्वकप विशेष ‘खेलका कुरा’मा पूर्व फुटबल खेलाडी गौरव थापासँग विश्वकप र नेपाली फुटबलको अवस्थाबारे उकेराकर्मी अमृत पुडासैनीले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ? 

फुटबल गतिविधिमै छु। काठमाडौं जिल्ला फुटबल संघमा रहेर काम गरिरहेको छु। आफ्नै स्पोर्ट्स कम्प्लेक्स पनि थियो तर त्यो चाहिँ अहिले भाडामा दिएको छु। फुटबल वर्ल्ड कपका सबै खेल हेर्ने प्रयास पनि गरिरहेको छु।  तर समय नमिलेकाले पुरै खेलहरू हेर्न पाएको छैन। नकआउटका खेलहरू भने सबै हेर्ने योजनामा छु। 

फुटबल सँगसँगै हुर्किनु भयो, पारिवारिक माहोल पनि फुटबल नै थियो। याद भए अनुसार  वर्ल्ड कप कहिलेबाट हेर्न थाल्नुभयो?

म सेन्टजेभियर्स गोदावरीमा पढ्थे। सन् १९९४ को वर्ल्ड कप हुँदा कार्यक्रम हुने हल जस्तोमा टिभी राखेर देखाइन्थ्यो। त्यो बेलाको एउटा देशको नाम चाहिँ याद छ, बुल्गेरिया।  त्यसपछि निरन्तर हेरिरहेको छु।

 एन्फा एकेडेमीको फस्ट ब्याचमा खेल्नुभयो। उमेर समूह अन्डर १६ देखी अन्डर १९ को खेल खेल्नु भयो। किन बिचमा ब्रेक भयो?

यता फर्स्ट लिग खेलिरहेकै थिए। तर मेरो एसएलसी सकियो। थप पढ्न इन्डिया गए। तर छुट्टी भएपछि यहाँ लिग खेल्न आउँथे। एएफसी गएपछि भने खेल जीवन पुरै ब्रेक भयो। 

तपाईँको अनुमानमा यस पटकको वर्ल्ड कपमा कसले जित्ला?

इंग्ल्याण्डको समर्थक भएकाले उसैले जितोस् भन्ने लागिहाल्छ। तर इंग्ल्याण्डले भएन भने चाहिँ पोर्चुगलले जितोस् भन्ने लाग्छ। रोनाल्डोले पनि एक पटक विश्वकप उचालोस् भन्ने हो। न्युट्रल भएर हेर्दा फ्रान्स एकदमै बलियो देखिन्छ। त्यसपछि ब्राजिल अलि मोमेन्टम गेन गर्दैछ। मेसी भएसम्म अर्जेन्टिनाको पनि खेल राम्रो छ। तर खेल हेर्दा फ्रान्स बलियो देखिन्छ।

 फ्रान्सले जित्ने आधारहरू चाहिँ?

सेकेन्ड हाफको हाइड्रेसन ब्रेकपछि रायन चर्की, ब्रैडली बार्कोला जस्ता प्लेयर छन्। उनीहरूको स्क्वाडको डेप्थ नै एकदमै स्ट्रोंग छ। अरू खेलाडीको पनि त्यस्तै छ पफमेन्स। 

नयाँ टिमको पमर्मेन्सलाई कसरी हेर्नु भएको छ?

हेर्दा सानो देश भए पनि उनीहरूको खेलाडीहरूले बाहिरी लिगहरू खेल्छन्। जस्तै नेदरल्याण्ड्सका खेलाडीहरूको दोहोरो नागरिक भएकोले उनीहरूलाई फाइदा छ। अहिलेको नेदरल्याण्ड्सको टिममा  एउटा प्लेयर एक्चुअली ताहिचंग हो। बाँकी अन्य देशमै जन्मिएका हुन्, अरू देशकै लिग खेल्छन्। 

अब देश सानो भए पनि पनि एक्चुअल प्लेयर्स बाहिर खेलेको भएर उनीहरूको खेल राम्रो भएको हो। जस्तै, उज्बेकिस्तान नयाँ नै हो तर उनीहरूको ग्रासरुट फुटबल राम्रोसँग चलाएका छन्। यी कुनै पनि एकैचोटी आएका हैनन्।

सन् २०१० को वर्ल्ड कप, त्यसपछि १२ को ओलम्पिक, एसिया गेमको लगायतको प्रतिष्ठित खेलमा काम गरेको अनुभव पनि छ। विशेष गरी विश्वकपको समयलाई कसरी सम्झनुहुन्छ?

त्यो सबैभन्दा रमाइलो अनुभव हो। मैले मुख्य रूपमा संयोजनको काम गरेँ। उनीहरूले आफ्नो स्टाफ भन्दा बाहिरबाट हायर गर्छन्। हामी एएफसी मार्फत फिफामा गएको थियौँ। हामी  १५-२० दिन अगाडि जान्थ्यौँ। एउटा भेन्युमा इन्चार्ज भएर काम पनि गरेँ। फुटबल हेर्दा मात्र हैन एडमिनिस्ट्रेसनको लागि पनि राम्रो भयो।  फुटबलमा प्रविधि आयो भनेपछि पहिला फिफाले प्रयोग गर्छ। त्यसपछि एएफसीमा आउँछ त्यसपछि नेपालमा आउने हो। त्यही प्रविधिको फर्स्ट ह्यान्ड एक्सपिरियन्स गर्दा एकदमै खुसी लागेको थियो। 

सन् १९९४ देखी २०२६ सम्म आउँदा विश्व फुटबलमा के परिवर्तन देख्नुभयो त?

अहिले प्रविधि पनि एकदमै राम्रो भइसकेको छ। सबैले प्रयोग गर्न पाएर ग्याप कम भएको छ। अहिले ४८ टिम छ। नयाँ टिमहरूले पनि राम्रो एक्सपोजर पाइरहेका छन्। पहिलाको जस्तो फिजिकल खेल छैन अहिले। टेक्नोलोजी सबैसँग पुग्यो र सबैले प्रयोग गरे। पहिला त्यस्तो थिएन। 

 त्यो टेक्नोलोजी हामीले प्रयोग गर्नै नसक्ने हो र?

फिफाले सबै दिन्छ, पहल गर्नु पर्यो नि। केही वर्ष अगाडि सानो जिपिएसको लागि कति ठुलो इस्यु बनाइयो। अब त्यो यहाँको प्राईभेट क्लबहरूले पनि प्रयोग गरिरहेका छन्। अब एनएसएलले नै जिपिएस प्रयोग गरेको छ। हामीले भिआर सक्दैनौ, त्यो महँगो छ। तर अरू सकिन्छ। 

खेलाडीहरूको क्षेत्रबाट पनि केही कमजोरी देखिन्छ?

खेलाडीमा अलि व्यावसायिकताको भावना कम देखिन्छ। तर यो त एन्फा र क्लबले नै व्यवस्थापन गर्ने हो। खेलाडी भएपछि खेलमै ध्यान दिनुपर्ने हुन्छ। बाहिरतिर लिग हुन्छ, पैसा हुन्छ। अनि अरू विषयमा सोच्नै पर्दैन। तर हाम्रोमा त्यो छैन। पैसाको अभाव छ। लिग नै नभएपछि प्रोफेसनलिजम भन्ने नै भएन। भएको यहीँ हो। 

इंग्ल्याण्डको सपोर्टर भन्नुभयो, अस्ति इंग्ल्याण्डले घानासँग बराबरी गर्यो। त्यो गेमलाई कसरी लिनुहुन्छ? 

अलि खै के नमिलेको नमिलेको जस्तो देखिन्छ। वर्ल्ड कप जस्तो टूर्नामेन्ट स्ट्रक्चरमा अलि स्लो नै हो। अब अर्को राउन्डमा ३२ देखि चाही राम्रो गर्छ जस्तो लाग्छ। 

पोर्चुगलले टिमलाई कसरी लिनुभएको छ?

 उनीहरूको मिडफिल्ड एकदमै स्ट्रोंग छ। रोनाल्डोलाई कमजोरीको रूपमा लिन्छन् तर पोर्चुगल त्यही हिसाबले खेलिरहेको छ। रोनाल्डो बक्समा पाए गोल हान्छन्। यसमा ब्रुनो फर्नान्डेज र नेवेसले रोनाल्डोलाई पास दिने र रोनाल्डोले गोल हान्नेवाला छन्। 

यदि रोनाल्डो बाहिर भएको अवस्थामा अर्को स्ट्राइकर रामोस् आयो भने फेरी त्यो उनीहरूको स्ट्र्याटेजी फरक हुन्छ। पेसमा जान्छन् उनीहरू। त्यही भएर उनीहरूको मिडफिल्ड एकदमै होर्ड क्लासेस छ। उनीहरूको त्यो मिडफिल्ड चल्यो भने मौका छ।

अब अलिकति नेपाली फुटबलतिर पनि फर्किउँ। पछिल्लो समय फिफाले नेपाली फुटबललाई प्रतिबन्ध लगायो। यसमा कमजोरी सरकारको कि एन्फाको हो?

म एउटा कुरा प्रस्ट पर्छु है। जस्तै एन्फाले धेरै चोटि हस्तक्षेप भनेको छ। त्यसैले सबैले एन्फालाई हस्तक्षेप भयो भन्ने सोच्छन्। तर मैले हेर्दा लाग्छ कसरी हस्तक्षेप हुन्छ? जब कि, एन्फाको आफ्नै विधान छ, त्यही विधान मान भन्दा हस्तक्षेप हुन्छ त? उसको आफ्नै निर्णय मान भन्दा हस्तक्षेप हुन्छ र? कि खेलकुद परिषद्ले मेरो मान्छे राख वा खेलकुद परिषद्ले यो गर भनेको भए पो हस्तक्षेप हुने होला नि। 

अब एन्फाको साधारण सभाको निर्णयले जिल्लाको चुनाव गरेर अनि केन्द्रको चुनाव गर भन्या छ। तर एन्फाले मान्दिन भनेर एकै पटक केन्द्रको चुनाव गर्न खोज्यो। आफ्नै निर्णय अनुसार पहिला जिल्लाको निर्वाचन गरेर केन्द्रको गर भन्दा हस्तक्षेप भयो भन्छन्।

हस्तक्षेप नभए फिफाले कसरी प्रतिबन्ध लगायो त?

फिफाले पनि जिल्लाको निर्वाचन गर्नु पर्दैन भनेको छ। तर यसमा फिफाले डिटेलमा हेरेको छैन भन्ने लाग्छ। फिफाले  डिटेल केही बुझेको छैन जस्तो लाग्छ। किनकि एन्फाले अहिलेसम्म जिल्ला तहको चुनाव नगरी केन्द्रको गरेको छैन। पहिला जिल्लाको नेतृत्व छान्ने अनि उनीहरूले केन्द्रको छान्ने त हो। तर एन्फा पदाधिकारीले जिल्लाको चुनाव नगरी विधान विपरीतको काम गर्न खोजे। 

यसमा बदमासी कसको हो त ?

एन्फाको विधानमा एउटा कार्यकालमा एक पटक मात्रै अध्यक्ष हुने व्यवस्था छ। यो भनेको सबै जिल्लाको अध्यक्षमा लागू हुन्छ। वैशाखमा चुनाव हुनुपर्ने थियो। तर एन्फा पदाधिकारीले चलाखी गरेर नियमित चुनाव भन्दा अगाडि नै चुनाव गर्यो भने पुरानै मान्छे आउँछन् र फेरी एन्फाको नेतृत्वमा आउन पाइन्छ भनेर यस्तो चाल भएको हो। अब त्यो त सिधै बदमासी हैन त। त्यसैले यो घटनामा म सरकारको कुनै भूमिका देख्दिन। सरकारले त तिमी आफ्नो विधान मान भनेको न हो। 

निलम्बन हुनुको कारण एन्फा पदाधिकारी नै हुन् त?

आफ्नै साधारण सभाको निर्णय मानेर पहिला जिल्लाको अनि केन्द्रको निर्वाचन गरेको भए न निलम्बन हुन्थ्यो न केही हुन्थ्यो। नयाँ कार्यसमिति आउँथ्यो, फुटबल चलिरहन्थ्यो। त्यही भएर फिफाबाट निलम्बन हुनुमा एन्फाकै गल्ती हो। एन्फाको महासचिव, अध्यक्षको काम भनेकै साधारणसभाको निर्णय पालना गर्नु हो। उनीहरूले पालना नगर्दा यो अवस्था आयो। 

अब कसरी निलम्बन फुकुवा गर्न सकिन्छ त?

अब भने सरकारले नै केही भूमिका खेल्नु पर्ने हुन्छ। सरकारले एउटा समिति बनाउने कुरा छ। त्यो समितिको काम भनेको फिफासँग सम्मेलन गर्ने हो। अनि यो निलम्बन कसरी हटाउने भन्नेमा जानुपर्छ। 

समितिले फिफालाई बाइपास गरेर आफै गर्छु भन्यो भने झन्  ठूलो समस्या आउँछ। अहिले अर्को समिति बनाएर चुनाव गर्ने कुरा सुनेको छु। यसमा पहिला फिफासँग संयोजन गरेर काम गर्नु पर्छ। यसमा जो-जोले बदमासी गरेका छन् उनीहरूमाथि छानबिन र कार्वाही पनि हुनुपर्छ। यसमा फिफालाई बाइपास गर्न खोज्न हुन्न। नत्र फेरि निलम्बन लम्बिने जोखिम हुन्छ।

अहिलेको अवस्थामा नेपाली फुटबललाई कसरी अगाडि बढाउन सकिएला त?

शून्यबाट सुरु गर्नु पर्छ। लगभग ग्रासरुटमा फुटबल भत्किसक्यो। अहिले वर्ल्ड कप भन्दा  एसियन कप खेल्ने सोच्नु पर्छ। त्यसको लागि पनि ८-९ वर्षको योजना बनाउनु पर्छ। ग्राउन्डको लागि सरकारसँग सम्झौता गर्नुपर्यो। पहाडी क्षेत्र रहेको भुटानले सरकारसँग १५-१६ वर्षदेखि प्लानिङ गरेर काम गरिरहेको छ। त्यसैले उसको फुटबल अहिले बलियो भन्दै गएको छ। यहाँ पनि योजनासहित काम गर्नु पर्छ। 

विश्वकपमा नसोचेको देश गईरहदाँ हामी कहाँ चुक्यौ? 

प्रतिभा हेर्ने हो भने हामी पनि धेरै पछाडि त छैनौँ।  पहिलाको जस्तो फुटबल अहिले हुँदैन नि। तर कुनै समय जुन ग्रासरुटबाट आएका खेलाडीहरू थिए उनीहरूले अहिले विश्वकप खेलेको जापान- उज्बेकिस्तानसँग खेल्दा पनि हारिहालिन्छ भन्ने हुँदैनथ्यो।

उनीहरूको अन्डर-१६, अन्डर-१९ हुँदै विश्वकप खेल्ने अनि हाम्रो चाहिँ स्वात्तै घट्ने हुन्छ त? मुख्य हाम्रोमा ग्रासरुटमा काम नै भएन। खेलाडी कोही कता भए कोही कता। लिगहरू नियमित भए खेल्न पाउने हो। लिगै हुन्न। लिग पनि छैन, ग्रासरुट पनि छैन। अनि कसरी विकास हुन्छ फुटबल? 

पहिला एन्फा एकेडेमी स्ट्रोंग थियो। त्यसले धानेको थियो। तर अहिले त एन्फा एकेडेमी  एकदमै लाचार छ। क्लब लिग पनि छैन। अहिलेको राष्ट्रिय खेलाडी चिन्न पनि गाह्रो छ। 

असार १५, २०८३ सोमबार २०:१७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।