लुम्बिनीमा धान रोपाइँ २०.५ प्रतिशत सम्पन्न, पर्याप्त वर्षा नभएका जिल्लामा गति सुस्त
बुटवल : लुम्बिनी प्रदेशमा चालु धान रोपाइँ सिजनअन्तर्गत हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको २०.५ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ।
प्रदेश कृषि मन्त्रालयको तथ्यांकअनुसार प्रदेशभर ६ लाख ७७ हजार ६१३ हेक्टर रोपाइँयोग्य क्षेत्रमध्ये ३ लाख ९ हजार ३७२ हेक्टरमा धान खेती हुने लक्ष्य राखिएकोमा हालसम्म ६३ हजार ६७०.६७ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो।
मन्त्रालयका बागवानी निर्देशक तथा सूचना अधिकारी सन्देश धितालका अनुसार अर्घाखाँचीमा सबैभन्दा बढी ९१.२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। त्यहाँ ६ हजार ७१० हेक्टर क्षेत्रफलमध्ये ६ हजार १२० हेक्टरमा रोपाइँ सकिएको छ।
यस्तै बर्दियामा ५० हजार १५० हेक्टरमध्ये ९ हजार ६५८ हेक्टरमा रोपाइँ भई १९.३१ प्रतिशत प्रगति हासिल भएको छ।
रोल्पामा ४० प्रतिशत, दाङमा १५ प्रतिशत तथा रुपन्देहीमा ४.३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको उनले बताए। पाल्पामा ४ प्रतिशत र गुल्मीमा ७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
प्रदेशका प्रमुख धान उत्पादक जिल्लामध्ये कपिलवस्तुमा भने रोपाइँको गति सुस्त देखिएको छ। ६६ हजार ९६५ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये हालसम्म १ हजार ५० हेक्टरमा मात्र रोपाइँ भएको छ, जुन कुल क्षेत्रफलको १.५८ प्रतिशत हो।
बाँकेमा पनि ०.५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।
पूर्वी रुकुममा २५ प्रतिशत तथा प्युठानमा ८८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा १० हजार ४३४.५ हेक्टरमा रोपाइँ भई ५० प्रतिशत प्रगति हासिल भएको छ।
मनसुन सक्रिय भएसँगै आगामी दिनमा रोपाइँको गति थप बढ्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। पर्याप्त वर्षा भएका क्षेत्रमा किसानहरू रोपाइँमा व्यस्त रहेका छन् भने केही जिल्लामा अझै वर्षाको प्रतीक्षासँगै रोपाइँ सुस्त गतिमा अघि बढिरहेको छ।
असार १५, २०८३ सोमबार ०८:२३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।