फिफा र अमेरिका हामीलाई विश्वकपबाट बाहिर निकाल्न चाहन्छन् : इरानी कप्तान मेहदी

फिफा र अमेरिका हामीलाई विश्वकपबाट बाहिर निकाल्न चाहन्छन् : इरानी कप्तान मेहदी

एजेन्सी : इरानका फुटबल कप्तान मेहदी तारेमीले फिफा र आयोजक राष्ट्र अमेरिकाले आफ्नो टोलीलाई विश्वकपबाट बाहिर निकाल्न खोजेको आरोप लगाएका छन्।

सियाटलमा इजिप्टविरुद्ध १-१ को बराबरी खेलेपछि सञ्चारमाध्यमहरूसँग कुरा गर्दै तारेमीले यस विश्वकपलाई इरानका लागि डिजास्टरको संज्ञा दिएका छन्।

इरानी टोलीले प्रतियोगिता सुरू भएदेखि नै ठूला चुनौती र विभेदको सामना गर्नुपरिरहेको बताएको छ।

इरान फुटबल संघका अध्यक्ष मेहदी ताजसहित टोलीका ११ जना महत्त्वपूर्ण अफिसियल र सहयोगी कर्मचारीहरूलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ।

जसका कारण इरानी टोलीसँग मिडिया अधिकारी, सामान व्यवस्थापक, अध्यक्ष र उपाध्यक्ष कोही पनि अमेरिकामै उपस्थित हुन पाएका छैनन्।

कप्तान तारेमीले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पहिलो खेलपछि ड्रेसिङ रुममा आएर समस्या समाधान गर्ने आश्वासन दिए पनि हालसम्म कुनै पनि व्यावहारिक सहयोग नगरेको गुनासो गरे।

इरानी टोलीलाई मेक्सिकोको सिमानामा पर्ने तिजुआनामा बस्न र तालिम लिन बाध्य पारिएको छ। प्रत्येक खेलपछि उनीहरू तुरुन्तै मेक्सिको फर्किनुपर्छ, जसका कारण खेलाडीहरूले पर्याप्त आराम र रिकभरीको समय पाउन सकेका छैनन्।

कप्तान तारेमीले भने, ‘हामीले यहाँ हरेक कुरा विरुद्ध लड्नु परिरहेको छ। यदि उनीहरू हामीलाई प्रतियोगिताबाट बाहिर निकाल्न चाहन्छन् भने भनिदिऊन्, हामी बाहिरिन्छौं। तर यो न्यायसङ्गत छैन। हामीले बिना कुनै आराम र रिकभरी बारम्बार तिजुआना यात्रा गर्नुपरेको छ।’

इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले पनि आयोजक राष्ट्रले इरानमाथि ठूलो अन्याय गरेको बताएका छन्।

उनले भने, ‘हाम्रा खेलाडीहरूले यस्तो कठिन परिस्थितिमा जे गरिरहेका छन्, त्यो इतिहासमा लेखिनुपर्छ। आयोजकले हामीलाई दुई हप्ता अगाडि नै आउन अनुमति दिएको भए हाम्रो शारीरिक र मानसिक अवस्था धेरै राम्रो हुने थियो, तर हामीलाई त्यो न्यायबाट वञ्चित गरियो।’

ड्रेसिङ रुममा राजनीतिक र मानवीय सन्देश
इजिप्टविरुद्धको खेलको अन्तिम समयमा इरानले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले सामान्य अन्तरको अफसाइड देखाउँदै रद्द गरिदिएको थियो।

खेलपछि इरानी टोलीले ड्रेसिङ रुममा एउटा हातले लेखेको नोट छोडेको थियो, जसमा ‘#168’ र ‘#Minab’ लेखिएको थियो।

यो ह्यासट्याग अमेरिका-इरान द्वन्द्वका क्रममा मिनाबमा भएको मिसाइल आक्रमणमा मारिएका १६८ जना निर्दोष नागरिक (जसमा अधिकांश बालबालिका थिए) को सम्झनामा लेखिएको थियो।

खेलमा तारेमीले एउटा पेनाल्टी मिस गरेका थिए, जसको जिम्मेवारी उनले आफैंले लिएका छन्। इरान अहिले इतिहासमै पहिलो पटक विश्वकपको अन्तिम ३२ मा पुग्नका लागि अन्य समूहको खेल र नतिजामा भर पर्नुपर्ने कठिन अवस्थामा छ।

यद्यपि, आफूहरूले मैदानमा देखाएको खेल र मिहिनेतप्रति गर्व रहेको कप्तान तारेमीले बताएका छन्।

असार १४, २०८३ आइतबार ११:१३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।