६०औं मिनेटमा मैदान छिरेका मेस्सीले गोल गरेपछि अर्जेन्टिनाले जोर्डनलाई ३-१ ले हरायो

६०औं मिनेटमा मैदान छिरेका मेस्सीले गोल गरेपछि अर्जेन्टिनाले जोर्डनलाई ३-१ ले हरायो

काठमाडौं : विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलमा साविक विजेता अर्जेन्टिनाले जोर्डनलाई ३-१ ले पराजित गरेको छ।

खेलको दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका कप्तान लियोनेल मेस्सीले उत्कृष्ट गोल गरेपछि अर्जेन्टिनाले सहज जित दर्ता गरेको हो।

पहिलो हाफमा जोभानी लो सेल्सो र लाउटारो मार्टिनेजको गोल मद्दतमा २-० को अग्रता बनाएको अर्जेन्टिना विरुद्ध दोस्रो हाफमा जोर्डनले खेलमा फर्किने प्रयास गरेको थियो।

खेलको ५५औं मिनेटमा जोर्डनका वैकल्पिक खेलाडी मोसा अल तामरीले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याएका थिए। उनले कप्तान एहसान हदादको पासमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको अग्रतालाई कम गरेका थिए।

जोर्डनले गोल गरेलगत्तै खेलको ६०औं मिनेटमा लाउटारो मार्टिनेजको स्थानमा लियोनेल मेस्सी मैदान प्रवेश गरेका थिए। मेस्सी मैदान छिरेपछि अर्जेन्टिनाले खेलमा पुनः पकड जमायो।

खेलको ८०औं मिनेटमा अर्जेन्टिनाले जोर्डनको डिबक्स नजिकै फ्रीकिकको अवसर पायो।

कप्तान मेस्सीले प्रहार गरेको उत्कृष्ट फ्रिकिक जोर्डनको रक्षापंक्तिलाई छल्दै सिधै गोलपोष्टको तल्लो कुनामा भित्रिएको थियो। यो गोलसँगै अर्जेन्टिनाले ३-१ को अग्रता बनायो र खेल सोही स्कोरमा समाप्त भयो।

यो जारी विश्वकप २०२६ मा मेस्सीको छैटौं गोल हो। यससँगै उनले विश्वकपका लगातार सात खेलमा गोल गर्ने कीर्तिमान पनि बनाएका छन्।

यस जितसँगै अर्जेन्टिनाले समूह ‘जे’मा आफ्नो शतप्रतिशत नतिजा कायम राख्दै समूह विजेताको रूपमा अर्को चरणको यात्रा तय गरेको छ। अर्कोतर्फ, पहिलो पटक विश्वकप खेलिरहेको जोर्डन भने समूह चरणबाटै बाहिरिएको छ।

असार १४, २०८३ आइतबार ०९:५२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।