मेस्सीलाई आराम दिइएको खेलको पहिलो हाफमै अर्जेन्टिनाले हान्यो दुई गोल

मेस्सीलाई आराम दिइएको खेलको पहिलो हाफमै अर्जेन्टिनाले हान्यो दुई गोल

एजेन्सी : विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा साविक विजेता अर्जेन्टिनाले जोर्डनविरुद्ध पहिलो हाफमा २-० को सहज अग्रता बनाएको छ।

डलास स्टेडियममा जारी यस खेलमा अर्जेन्टिनाका लागि जोभानी लो सेल्सो र लाउटारो मार्टिनेजले गोल गरेका छन्।

अर्जेन्टिनाले यसअघि नै लगातार दुई खेल जितेर समूहको शीर्ष स्थान पक्का गरिसकेको छ। त्यसैले प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान लियोनेल मेस्सीसहित टोलीका ९ मुख्य खेलाडीलाई विश्राम दिँदै दोस्रो रोजाइको टोली मैदानमा उतारेका थिए।

अर्कोतर्फ, अघिल्ला दुई खेल हार्दै प्रतियोगिताबाट बाहिरिइसकेको जोर्डन भने प्रतिष्ठाका लागि खेलिरहेको छ।

खेलको सुरुवाती समयदेखि नै अर्जेन्टिनाले बल आफ्नो नियन्त्रणमा राखेको थियो। खेलको सातौं मिनेटमा लो सेल्सोले गोल गरे पनि त्यसलाई रेफ्रीले अफसाइड घोषित गरिदिएका थिए।

तर, १९ औं मिनेटमा लो सेल्सोले नै २० यार्डको दुरीबाट उत्कृष्ट फ्रिकिक प्रहार गर्दै गोल गरे र अर्जेन्टिनालाई १-० को अग्रता दिलाए। जारी विश्वकपमा लियोनेल मेस्सीबाहेक अर्जेन्टिनाका लागि गोल गर्ने लो सेल्सो पहिलो खेलाडी बनेका छन्।

३१ औं मिनेटमा अर्जेन्टिनाले आफ्नो अग्रता दोब्बर बनायो। जोर्डनका डिफेन्डर एहसान हदादले बल क्लियर गर्ने क्रममा जुलियन अल्भारेजलाई अनुहारमा प्रहार गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा अर्जेन्टिनालाई पेनाल्टी प्रदान गरेका थिए।

उक्त पेनाल्टीलाई स्ट्राइकर लाउटारो मार्टिनेजले गोलमा परिणत गरे। लाउटारोको विश्वकप करियरमा यो पहिलो गोल हो।

खेलमा अर्जेन्टिनाका तर्फबाट युवा खेलाडीहरू जिउलियानो सिमिओनी र निको पाजले सुरुवाती ११ मा स्थान पाएका थिए।

रोचक कुरा के छ भने, २८ वर्षअघि सन् १९९८ को विश्वकपमा उनीहरूका बुबा डिएगो सिमिओनी र पाब्लो पाजले पनि अर्जेन्टिनाका लागि सँगै खेलेका थिए।

पहिलो हाफमा जोर्डनले गोलका लागि खासै गतिलो प्रयास गर्न सकेन। जोर्डनले पहिलो हाफमा गरेका दुईवटै प्रहार पोष्टभन्दा बाहिर गएका थिए।

असार १४, २०८३ आइतबार ०८:४१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।