इङ्गल्याण्ड समूह विजेता र क्रोएसिया उपविजेता बन्दै अन्तिम ३२ मा, केन र मोड्रिचको नयाँ कीर्तिमान

इङ्गल्याण्ड समूह विजेता र क्रोएसिया उपविजेता बन्दै अन्तिम ३२ मा, केन र मोड्रिचको नयाँ कीर्तिमान

एजेन्सी : विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’का अन्तिम खेलहरूमा जित हात पार्दै इङ्गल्याण्ड र क्रोएसिया अर्को चरणमा प्रवेश गरेका छन्।

इङ्गल्याण्डले पानामालाई २-० ले पराजित गर्दै समूहको शीर्ष स्थान हासिल गर्यो भने क्रोएसियाले घानालाई २-१ ले हराउँदै दोस्रो स्थान सुरक्षित गर्यो।

यी खेलहरूमा इङ्गल्याण्डका कप्तान ह्यारी केन र क्रोएसियाका कप्तान लुका मोड्रिचले आ-आफ्नो नाममा ऐतिहासिक कीर्तिमानहरू दर्ता गराएका छन्।

ह्यारी केन बने इङ्गल्याण्डका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
इङ्गल्याण्डले पानामामाथि जित दर्ता गर्ने क्रममा कप्तान ह्यारी केन र जुड बेलिङ्घमले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इङ्गल्याण्डले आफ्नो खेलमा सुधार ल्याएको थियो।

खेलको ६२औं मिनेटमा बुकायो साकाको कर्नर बललाई सदुपयोग गर्दै जुड बेलिङ्घमले गोल गरी इङ्गल्याण्डलाई सुरुवाती अग्रता दिलाए। त्यसको पाँच मिनेटपछि, ६७ औं मिनेटमा बेलिङ्घमकै पासमा ह्यारी केनले हेडरमार्फत गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

यो गोलसँगै ह्यारी केन विश्वकपमा इङ्गल्याण्डका लागि सर्वाधिक ११ गोल गर्ने खेलाडी बनेका छन्। उनले पूर्व खेलाडी ग्यारी लिनेकरको १० गोलको कीर्तिमानलाई उछिनेका हुन्।

यसैगरी, २२ वर्ष ३६३ दिनका बेलिङ्घम सन् १९६६ यता विश्वकपको एउटै खेलमा गोल र असिस्ट दुवै गर्ने इङ्गल्याण्डका सबैभन्दा युवा खेलाडी बनेका छन्।

पानामाले खेलको ९१ औं मिनेटमा गोल गरे पनि त्यसलाई अफसाइड घोषित गरिएको थियो। पानामा कुनै पनि गोल गर्न नसकी प्रतियोगिताबाट बाहिरिएको छ।

४० वर्षको उमेरमा लुका मोड्रिचको कीर्तिमानी असिस्ट
अर्कोतर्फ, क्रोएसियाले घानालाई २-१ ले पराजित गर्दै समूहमा दोस्रो स्थान हासिल गर्यो।

क्रोएसियाका लागि पेटार सुसिचले खेलको ३० औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। तर, ७३ औं मिनेटमा घानाका डेरिक लुकासेनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

खेल सकिन ७ मिनेट बाँकी छँदा क्रोएसियाका कप्तान लुका मोड्रिचको कर्नर प्रहारमा निकोला भ्लासिचले हेडरमार्फत गोल गर्दै टोलीलाई २-१ को जित दिलाए।

यो असिस्टसँगै ४० वर्ष २९१ दिनका लुका मोड्रिच विश्वकप इतिहासमै असिस्ट गर्ने सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन्।

खेलभरि उनले १०२ पटक बल छोएका थिए भने ८२ वटा सटीक पास दिएका थिए। पराजित भए पनि घाना तेस्रो स्थानमा रहँदै अर्को चरणमा पुग्न सफल भएको छ।

समूह विजेता बनेको इङ्गल्याण्डले अब अन्तिम ३२ को खेलमा कंगोसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै, क्रोएसियाको भेट पोर्चुगलसँग हुनेछ भने  घानाले कोलम्बियाको सामना गर्नेछ।

असार १४, २०८३ आइतबार ०७:५५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।