उज्बेकिस्तानलाई हराउँदै कंगो पहिलो पटक विश्वकपको अन्तिम ३२ मा, इंग्ल्यान्डसँग भिड्ने

उज्बेकिस्तानलाई हराउँदै कंगो पहिलो पटक विश्वकपको अन्तिम ३२ मा, इंग्ल्यान्डसँग भिड्ने

काठमाडौं : कंगोले उज्बेकिस्तानमाथि पुनरागमन जित दर्ता गर्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएको छ।

समूह चरणको आफ्नो अन्तिम खेलमा जित हात पारेसँगै कंगोले अब अर्को चरणमा इंग्ल्यान्डसँगको भेट पक्का गरेको छ।

खेलको सुरुवाती समयमा उज्बेकिस्तानले अग्रता लिएको थियो। कंगोका डिफेन्डरहरू एक्सेल तुआन्जेबे र आरोन वान-बिसाका बीच तालमेल नमिल्दा उज्बेकिस्तानका एल्डोर शोमुरोदोभले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफको अधिकांश समय उज्बेकिस्तानले खेलमा आफ्नो पकड बलियो बनाएको थियो।

कंगोले पहिलो हाफमा एक गोल फर्काए पनि त्यसअघि कंगोका खेलाडीले फाउल गरेको भन्दै रेफ्रीले उक्त गोललाई मान्यता दिएनन्। यद्यपि, दोस्रो हाफमा कंगो थप ऊर्जाका साथ मैदान प्रवेश गर्यो।

कंगोका योआन विसालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि कंगोले पेनाल्टीको अवसर पायो।

विसा आफैंले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल १-१ को बराबरीमा ल्याए। त्यसपछि, फिस्टन मायेलेले मेश्याक एलियाको प्रहार डिफ्लेक्ट भई आएको बललाई गोल गर्दै कंगोलाई २-१ को अग्रता दिलाए।

खेलको अतिरिक्त समयमा विसाले व्यक्तिगत दोस्रो गोल गर्दै कंगोको ३-१ को जित निश्चित गरे।

जितसँगै डिएर कंगो समूह ‘के’को तेस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्न सफल भएको छ र अब बुधबार एटलान्टामा इंग्ल्यान्डविरुद्ध खेल्नेछ।

असार १४, २०८३ आइतबार ०७:४४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।