नाटकीय बराबरीसँगै इजिप्ट नकआउटमा, इरानको प्रतीक्षा जारी
एजेन्सी : विश्वकप अन्तर्गत समूह ‘जी’को अन्तिम खेलमा इजिप्ट र इरानबीच १-१ गोलको रोमान्चक बराबरी भएको छ।
सिएटल स्टेडियममा भएको यस नाटकीय खेलमा बराबरी नतिजा निकाल्दै इजिप्ट समूहको दोस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ।
अर्कोतर्फ, तेस्रो स्थानमा रहेको इरान भने आफ्नो इतिहासमै पहिलोपटक नकआउट चरणमा पुग्ने झिनो आशासहित अन्य समूहका नतिजाहरूको पर्खाइमा छ।
खेलको पाँचौं मिनेटमै इजिप्टका स्टार खेलाडी मोहमद सलाहको प्रहारलाई इरानी गोलकिपर बेइरानभान्डले पूर्ण रूपमा नियन्त्रणमा लिन नसकेपछि महमुद साबेरले गोल गर्दै इजिप्टलाई सुरुवाती अग्रता दिलाए।
त्यसको केही मिनेटपछि नै इरानले पेनाल्टीको अवसर पायो। तर, इरानका मेहदी तारेमीको पेनाल्टी प्रहारलाई इजिप्टका गोलकिपर शोबेइरले बचाए।
यद्यपि, १४औं मिनेटमा शोबेइरले बचाएको अर्को बललाई रिबाउन्डमा रामिन रेजाइयानले गोलमा परिणत गर्दै इरानलाई १-१ को बराबरीमा ल्याए।
खेलको अन्तिम क्षणहरू इरानी टोलीका लागि निकै दुर्भाग्यपूर्ण रहे। ८९औँ मिनेटमा इरानका स्ट्राइकर तारेमीको हेड प्रहार गोलपोष्टको खाँबोमा लागेर फर्कियो।
९३औं मिनेटमा इरानका खलीलजादेहले उत्कृष्ट गोल गर्दै टोलीलाई जित दिलाएको ठानेका थिए, तर अफसाइडका कारण उक्त गोललाई मान्यता दिइएन भने खेल सकिन केही सेकेन्ड मात्र बाँकी छँदा इरानका एजातोलाहीको प्रहार पनि क्रसबारमा लागेर फर्कियो।
नकआउट चरणमा पुगेको इजिप्टले अब डालस स्टेडियममा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीहरूको सूचीमा रहेको इरानको नकआउट सम्भावना अन्य खेलका समीकरणहरूमा निर्भर हुनेछ।
असार १३, २०८३ शनिबार ११:३५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।