न्युजिल्यान्डमाथि ५-१ को फराकिलो जित निकाल्दै बेल्जियम समूह विजेता
एजेन्सी : लिआन्द्रो ट्रोसार्डको दुई गोलको मद्दतले बेल्जियमले न्युजिल्यान्डलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै समूह ‘जी’को विजेताका रूपमा विश्वकपको नकआउट चरणमा स्थान पक्का गरेको छ।
भ्यानकुभरको बीसी प्लेस स्टेडियममा भएको यस जितसँगै बेल्जियम प्रतियोगिताको अन्तिम ३२ मा प्रवेश गरेको छ।
खेलको पहिलो हाफमा बेल्जियमले पूर्ण रूपमा दबाब बनाएको थियो भने न्युजिल्यान्डले एउटा पनि प्रहार गर्न सकेको थिएन।
खेलको २८औँ मिनेटमा ट्रोसार्डले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाए। ५०औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
खेलको केही समयपछि केभिन डे ब्रुइनेले डि-बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै बेल्जियमलाई ३-० को बलियो स्थितिमा पुर्याए। न्युजिल्यान्डका एलाइजाह जस्टले एक गोल फर्काएपछि खेल ३-१ को स्थितिमा आएको थियो।
तर, वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका रोमेलु लुकाकुले हेडमार्फत गोल गर्दै बेल्जियमको अग्रतालाई फेरि फराकिलो बनाए।
खेलको अन्तिम क्षणमा एलेक्सिस सालेमेकर्सले लुकाकुको पासमा गोल गर्दै बेल्जियमको ५-१ को सानदार जित सुनिश्चित गरे।
यस खेलमा गोल गरेसँगै रोमेलु लुकाकु विश्वकपमा बेल्जियमका लागि सबैभन्दा बढी ६ गोल गर्ने खेलाडी बनेका छन्। उनले मार्क विल्मोट्सको ५ गोलको कीर्तिमानलाई पछि पारेका हुन्।
खेलमा बेल्जियमले विपक्षी गोलपोष्टमा ३५ पटक प्रहार गरेको थियो। यो सन् १९६६ यता विश्वकपको एउटै खेलमा बेल्जियमले गरेको तेस्रो धेरै प्रहार हो।
पछिल्ला खेलहरूमा सोचे जस्तो प्रदर्शन गर्न नसकेका कारण दबाबमा रहेका बेल्जियमका प्रशिक्षक रुडी गार्सियाका लागि यो फराकिलो जित ठूलो राहत बनेको छ।
असार १३, २०८३ शनिबार ११:२६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।