विश्वकपको समूह ‘एच’ : स्पेन समूह विजेता, पहिलोपटक विश्वकप खेलेको केप भर्डले नकआउटमा अर्जेन्टिनाको सामना गर्ने

विश्वकपको समूह ‘एच’ :  स्पेन समूह विजेता, पहिलोपटक विश्वकप खेलेको केप भर्डले नकआउटमा अर्जेन्टिनाको सामना गर्ने

एजेन्सी : विश्वकपको समूह ‘एच’ अन्तर्गत भएका अन्तिम तथा निर्णायक खेलहरूमा स्पेन र केप भर्ड नकआउट चरणमा प्रवेश गर्न सफल भएका छन्।

स्पेनले उरुग्वेलाई पराजित गर्दा केप भर्डले साउदी अरेबियासँग बराबरी खेल्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ।

स्पेनले उरुग्वेलाई १-० अन्तरले पराजित गर्दै समूह विजेताको रूपमा अर्को चरणको यात्रा तय गर्यो।

खेलको ४२औं मिनेटमा एलेक्स बाएनाले गरेको गोल नै स्पेनको जितमा निर्णायक बन्यो। उरुग्वेका गोलकिपर फर्नान्डो मुस्लेराको बचाउने प्रयासमा भएको गल्तीका कारण बाएनाले गोल गर्ने अवसर पाएका थिए।

यस खेलमा स्पेनको रक्षापङ्क्ति निकै बलियो देखियो। खेलको अन्तिम समयमा उरुग्वेका अगस्टिन कानोबियोले खराब ट्याकलका कारण सिधै रातो कार्ड पाएका थिए।

पराजयसँगै उरुग्वे प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। स्पेनले अब जुलाई २ मा समूह ‘जे’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ।

केप भर्डको ऐतिहासिक सफलता
पहिलोपटक विश्वकप खेलिरहेको अफ्रिकी राष्ट्र केप भर्डले साउदी अरेबियासँग ०-० को बराबरी खेल्दै इतिहास रचेको छ।

स्पेनसँग उरुग्वे पराजित भएसँगै केप भर्ड तीन खेलमा तीन बराबरी खेल्दै समूहको दोस्रो स्थानमा रहन सफल भयो र नकआउट चरणमा स्थान पक्का गर्यो।

खेलको अन्तिम समयमा केप भर्डले गोल गर्ने केही राम्रा अवसरहरू पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। यद्यपि, ऐतिहासिक सफलता हात पारेको केप भर्डले अब नकआउट चरणमा विश्व विजेता अर्जेन्टिनाको सामना गर्नेछ।

अर्कोतर्फ, साउदी अरेबिया भने ३ खेलमा मात्र २ अंक जोड्दै समूहको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ।

असार १३, २०८३ शनिबार ०८:१६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।