इराकले १३औं मिनेटमै सिधै ‘रेड कार्ड’ पाएको खेलमा सेनेगलको ५-० को जित

इराकले १३औं मिनेटमै सिधै ‘रेड कार्ड’ पाएको खेलमा सेनेगलको ५-० को जित

काठमाडौं : विश्वकपको समूह ‘आई’ अन्तर्गत आफ्नो अन्तिम खेलमा सेनेगलले १० खेलाडीमा सीमित इराकलाइ ५-० को फराकिलो अन्तरले पराजित गरेको छ।

टोरन्टो स्टेडियममा प्राप्त यस जितसँगै सेनेगलले प्रतियोगिताको नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ।

यसअघि फ्रान्स र नर्वेसँग लगातार पराजित भएपछि सेनेगलका लागि यो खेल जित्नै पर्ने दबाब थियो। खेलको चौथो मिनेटमै हबिब डियाराले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाए।

खेलको १३औँ मिनेटमा सेनेगलका स्ट्राइकर साडियो मानेलाई गोल गर्ने अवसरबाट बचाउन लडाएपछि इराकी डिफेन्डर रेबिन सुलाकाले सिधै रातो कार्ड पाएका थिए।

एक खेलाडी कम भएको इराकी टोलीविरुद्ध सेनेगलले दोस्रो हाफमा लगातार गोल गर्यो।

५६औँ मिनेटमा इस्माइला सारले गोल गर्दै टोलीको अग्रता २-० बनाए। त्यसको तीन मिनेटपछि, वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका पापे गुईले उत्कृष्ट गोल गरे।

गुईले नै ७१औँ मिनेटमा टोलीका लागि चौथो गोल थपे। खेल सकिन आठ मिनेट बाँकी छँदा इलिमान एनडियाएले प्रहार गरेको बल गोलमा परिणत भएपछि सेनेगलले ५-० को जित सुनिश्चित गर्यो।

विश्वकपको इतिहासमा कुनै पनि खेलमा पाँच गोल गर्ने सेनेगल पहिलो अफ्रिकी टोली बनेको छ। यस्तै यस खेलमा गोल र असिस्ट दुवै गरेका सार सेनेगलका लागि विश्वकपमा सबैभन्दा बढी गोल (४ गोल) गर्ने खेलाडी बनेका छन्।

यस जितसँगै सेनेगल समूहमा तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट टोलीहरूको सूचीमा पाँचौँ स्थानमा रहेको छ। समीकरणहरू अनुकूल रहेमा आगामी चरणमा सेनेगलले जुलाई १ मा एटलान्टामा इंग्ल्याण्डको सामना गर्ने सम्भावना रहेको छ।

असार १३, २०८३ शनिबार ०७:३२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।