हालान्डलाई आराम दिइएको खेलमा फ्रान्स हाबी : ३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, लार्सनको पेनाल्टी फ्रान्सेली गोलकिपरले छेके

हालान्डलाई आराम दिइएको खेलमा फ्रान्स हाबी :  ३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, लार्सनको पेनाल्टी फ्रान्सेली गोलकिपरले छेके

एजेन्सी : विश्वकप अन्तर्गत समूह ‘आई’को अन्तिम खेलमा फ्रान्सले नर्वेलाई ४-१ गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको छ।

बोस्टन स्टेडियममा भएको यस खेलमा फ्रान्सका विङ्गर ओस्मान डेम्बेलेले पहिलो हाफमै उत्कृष्ट ह्याट्रिक पूरा गरे।

नर्वे यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेका कारण टोलीका मुख्य प्रशिक्षक स्टाल सोल्बाकेनले मुख्य स्ट्राइकर एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डसहित टोलीमा १० वटा परिवर्तन गर्दै उनीहरूलाई आराम दिने निर्णय गरेका थिए।

हालान्ड खेल अवधिभर बेन्चमै रहे।

खेलको सुरुवातदेखि नै फ्रान्सले नर्वेमाथि दबाब बनाएको थियो। खेल सुरु भएको २२ सेकेन्डमै केलियन एमबाप्पेको प्रहार गोलपोष्टको क्रसबारमा लागेर फर्किएको थियो।

तर, सातौं मिनेटमा एमबाप्पेकै पासमा डेम्बेलेले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए।

२०औं मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। त्यसको लगत्तै नर्वेका थेलो आसगार्डले गोल फर्काउँदै खेललाई २-१ को स्थितिमा ल्याए।

तर, ३२औं मिनेटमा डेम्बेलेले व्यक्तिगत तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे। यो विश्वकप इतिहासकै दोस्रो सबैभन्दा छिटो पूरा गरिएको ह्याट्रिक हो।

दोस्रो हाफमा नर्वेले खेलमा फर्कने राम्रो अवसर पाएको थियो। ओस्कार बबलाई पेनाल्टी बक्समा लडाएपछि नर्वेले पेनाल्टीको अवसर पायो।

तर, जोर्गेन स्ट्रान्ड लार्सनको पेनाल्टी प्रहारलाई फ्रान्सेली गोलकिपर माइक मेग्नानले उत्कृष्ट बचाउ गरे। खेलको इन्जुरी समयमा डेसिरे डोउले फ्रान्सका लागि चौथो गोल थपे।

फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्स आफ्नी आमाको निधनका कारण यस खेलमा उपस्थित थिएनन्। उनको अनुपस्थितिमा पनि टोलीले सुखद नतिजा निकाल्यो।

यो जितसँगै फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ, जहाँ उसले तेस्रो स्थान प्राप्त गर्ने टोलीको सामना गर्नेछ। यस्तै, समूह उपविजेता बनेको नर्वेले जुन ३० मा डालसमा आइभोरी कोस्टको सामना गर्नेछ।

असार १३, २०८३ शनिबार ०७:१६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।