अस्ट्रेलिया र प्याराग्वे बराबरी खेल्दै नकआउट चरणमा
एजेन्सी : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को अन्तिम खेलमा अस्ट्रेलिया र प्याराग्वेले गोलरहित बराबरी खेल्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन्।
सान फ्रान्सिस्कोमा भएको खेल बराबरीमा सकिएसँगै अस्ट्रेलिया समूह उपविजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेको छ।
यस्तै, समूह चरणमा ४ अंक जोडेको प्याराग्वे पनि उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रूपमा अघिल्लो चरणमा पुग्ने लगभग निश्चित भएको छ।
यस समूहबाट अमेरिका विजेताका रूपमा यसअघि नै छनोट भइसकेको छ भने टर्की बाहिरिइसकेको छ।
अब अस्ट्रेलियाले जुलाई ३ मा इजिप्ट, इरान र बेल्जियम रहेको समूहको उपविजेतासँग सामना गर्नेछ। प्याराग्वेले भने नकआउट चरणमा समूह 'ई' को विजेता जर्मनीसँग खेल्ने बलियो सम्भावना छ।
खेलको पहिलो हाफमा अस्ट्रेलियाले तुलनात्मक रूपमा उत्कृष्ट र आक्रामक सुरुवात गरेको थियो।
टर्कीविरुद्धको खेलमा रातो कार्ड पाएका कारण निलम्बनमा परेका मुख्य खेलाडी मिगुएल आल्मिरोनको अनुपस्थितिमा प्याराग्वेले सुरुमा रक्षात्मक रणनीति अपनाएको थियो।
पहिलो हाफमा प्याराग्वेले गोलपोस्टमा केवल एउटा फितलो प्रहार मात्र गर्न सक्यो, जुन उसको विश्वकप इतिहासकै कमजोर प्रदर्शन हो।
अस्ट्रेलियाका लागि खेलको चौथो मिनेटमै ज्याक्सन इर्भिनको प्रहारलाई प्याराग्वेका गोलकिपर ओर्लान्डो गिलले बचाएका थिए। त्यसपछि क्रिस्टियन भोल्पाटोको प्रहारलाई पनि गिलले उत्कृष्ट बचाउ गर्दै पहिलो हाफ गोलरहित राखे।
दोस्रो हाफमा प्याराग्वेले आफ्नो रणनीति परिवर्तन गर्दै चार डिफेन्डर खेलायो र बढी आक्रामक देखियो।
मैदान छिरेको पाँच मिनेटभित्रै वैकल्पिक खेलाडी मौरिसियोको उत्कृष्ट प्रहारलाई अस्ट्रेलियाका गोलकिपर प्याट्रिक बिचले बचाए। यस हाफमा प्याराग्वेका जुलियो एन्सिसा निकै सक्रिय देखिएका थिए।
खेलका दौरान प्याराग्वेका मिडफिल्डर डिएगो गोमेजले पहेँलो कार्ड पाएका कारण उनले अर्को महत्वपूर्ण खेल गुमाउनेछन्।
त्यस्तै, प्याराग्वेका डिफेन्डर ओमार आल्डेरेट देब्रे घुँडाको चोटका कारण मैदानबाट बाहिरिन बाध्य भएका थिए।
असार १२, २०८३ शुक्रबार १०:०६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।