स्वाइनस्टाइगरको टिप्पणीमा आइभोरी कोस्टका प्रशिक्षक रिसाए, भने- ‘नश्लवादी’

स्वाइनस्टाइगरको टिप्पणीमा आइभोरी कोस्टका प्रशिक्षक रिसाए, भने- ‘नश्लवादी’

एजेन्सी : आइभोरी कोस्टका प्रशिक्षक एमर्स फाएले जर्मनीका पूर्व स्टार मिडफिल्डर बास्टियन स्वाइनस्टाइगरले आइभोरियन टोलीको खेल शैलीबारे दिएको टिप्पणीलाई  नश्लवादी बताएका छन्।

श्वाइनस्टाइगरले आइभोरी कोस्टको खेललाई ‘अफ्रिकी फुटबल जस्तो’, ‘वाइल्ड’ र ‘रणनीतिमा कम आधारित’ भनेका थिए।

जर्मनीले फिफा विश्वकप २०२६ को समूह चरणको खेलमा आइभोरी कोस्टलाई पराजित गर्नुअघि स्वाइनस्टाइगरले एक टेलिभिजन कमेन्टेटरका रूपमा यस्तो टिप्पणी गरेका थिए।

बिहीबार कुरासाओलाई २-० ले हराएर आइभोरी कोस्टले आफ्नो इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान पक्का गरेपछि प्रशिक्षक फाएलाई यसबारे प्रश्न सोधिएको थियो। जवाफमा उनले स्वाइनस्टाइगरको भनाइप्रति गहिरो निराशा व्यक्त गरे।

फाएले भने, ‘यो दुःखद कुरा हो। स्वाइनस्टाइगर एक उत्कृष्ट खेलाडी थिए र मैले सधैँ उनको सम्मान गर्थेँ। तर उनको टिप्पणी सुनेर म निराश भएँ। स्पष्ट रूपमा भन्नुपर्दा, हामी यसलाई नश्लवादी भन्न सक्छौँ।’

उनले अफ्रिकी फुटबल टोलीहरू शारीरिक रूपमा मात्र नभई प्राविधिक र रणनीतिक रूपमा पनि अब्बल रहेको मैदानमा प्रमाणित गरेर देखाउने बताए।

के भनेका थिए स्वाइनस्टाइगरले?
जुन २० मा जर्मन प्रसारक एआरडीमा टिप्पणी गर्दै स्वाइनस्टाइगरले भनेका थिए, ‘आइभोरी कोस्टको खेल अलि अफ्रिकी फुटबल जस्तो, थोरै अपरम्परागत, थोरै अनियन्त्रित र सायद रणनीतिमा कम आधारित छ। हामी यस्तो अप्रत्याशित खेलका लागि तयार हुनुपर्छ।’

उनको यो टिप्पणीले जर्मन मिडियामा पनि विवाद सिर्जना गरेको छ। लिभरपुलका पूर्व प्रशिक्षक योर्गेन क्लोपलाई यसबारे सोध्दा उनले यसलाई ‘गम्भीर विषय’ भन्दै कुनै पनि टिप्पणी गर्न अस्वीकार गरे।

जर्मनीसँग पराजित भए पनि आइभोरी कोस्टले समूह ‘ई’ मा इक्वेडर र कुरासाओलाई हराउँदै अन्तिम ३२ मा स्थान पक्का गरेको छ। अब उनीहरूले जुन ३० मा फ्रान्स वा नर्वेसँग खेल्नेछन्।

असार १२, २०८३ शुक्रबार ०९:०१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।