विश्वकप निकै महँगो भएकोमा न्यूयोर्कका मेयर असन्तुष्ट
एजेन्सी : न्यूयोर्कका मेयर जह्रान ममदानीले फिफा विश्वकप २०२६ मा दर्शकहरूका लागि टिकट र यात्रा निकै महँगो भएको भन्दै असन्तुष्टि जनाएका छन्।
उनका अनुसार विश्वकपबाट फिफाले पर्याप्त आम्दानी गर्ने भएकाले समर्थकहरूमाथि मूल्यवृद्धिको अतिरिक्त भार थपिनु हुँदैन।
अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको यो विश्वकप इतिहासकै सबैभन्दा महँगो मानिएको छ। पहिलो चरणका धेरैजसो खेलहरूको टिकट मूल्य ३५० डलरदेखि ५,००० डलरसम्म तोकिएको छ।
यसका साथै दर्शकहरूले होटल र यातायात खर्चमा पनि ठूलो मूल्यवृद्धिको सामना गरिरहेका छन्।
न्यूयोर्क न्युजर्सी स्टेडियम जाने रेल र बसको भाडा चर्को विरोधपछि केही घटाइएपनि सामान्य समयभन्दा अझै १० गुणा बढी रहेको छ।
मेयर ममदानीले फिफाले चाहेको भए यो प्रतियोगितालाई सर्वसाधारणका लागि सुलभ बनाउन सक्ने बताए।
फिफाले यस विश्वकपबाट करिब ९ अर्ब डलर कमाउने अनुमान गरिएको छ, जुन सन् २०२४ को पेरिस ओलम्पिकको कुल कमाइ भन्दा पनि बढी हो।
बिबिसी रेडियोसँग कुरा गर्दै ३४ वर्षीय मेयर ममदानीले भने, ‘हामी सुरुदेखि नै यो विश्वकप सबैका लागि होस् भन्ने चाहन्थ्यौँ। खेलकुदलाई एउटा विलासी उत्पादनका रूपमा मात्र वर्गीकरण गर्ने प्रवृत्तिको विरुद्ध उभिनु आवश्यक छ।’
बिबिसी स्पोर्ट्सको एक अध्ययन अनुसार, इंग्ल्यान्डका समर्थकहरूले समूह चरणका केवल तीनवटा खेल प्रत्यक्ष हेर्न मात्र करिब ६,५०० पाउन्ड खर्च गर्नुपर्ने देखिएको छ।
महँगीको यो मारका बीच न्यूयोर्क शहरले आफ्ना तर्फबाट दर्शकहरूलाई राहत दिन केही पहलहरू गरेको छ।
शहरका हरेक क्षेत्रमा निःशुल्क ‘फ्यान जोन’ स्थापना गरिएका छन्, जसलाई पहिले सशुल्क बनाउन खोजिएको थियो।
प्रति खेल १ हजार वटा टिकट ५० डलरको सस्तो दरमा उपलब्ध गराइएको छ भने शहरका ९०० भन्दा बढी रेस्टुरेन्ट र बारहरूमा २६ डलरको ‘विश्वकप मील डिल’ सुरु गरिएको छ।
मेयर ममदानीले पर्यटक र न्यूयोर्कवासी दुवैले सस्तो र सुलभ रूपमा विश्वकपको आनन्द लिन पाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
असार १२, २०८३ शुक्रबार ०७:४८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।