फिफा विश्वकप २०२६ : समूह ‘ई’बाट आइभोरी र इक्वेडर नकआउट चरणमा प्रवेश, जर्मनी पराजित
एजेन्सी : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को अन्तिम खेलहरूमा रोमाञ्चक नतिजा आएको छ।
निकोलस पेपेको दुई गोलको मद्दतले कोटे डी आइभोरीले कुरासाओमाथि २-० को सहज जित दर्ता गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ।
अर्कोतर्फ, इक्वेडरले समूह विजेता जर्मनीलाई २-१ ले स्तब्ध पार्दै अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेको छ।
पेपेको दुई गोलमा कोटे डी आइभोरीको जित
फिलाडेल्फिया स्टेडियममा भएको खेलमा कोटे डी आइभोरीले कुरासाओलाई पराजित गर्यो।
जर्मनीसँग २-१ ले पराजित टोलीमा प्रशिक्षकले चार परिवर्तन गरेका थिए, जसमा भिल्लारियलका फरवार्ड निकोलस पेपेले टोलीका लागि निर्णायक प्रदर्शन गरे।
खेलको सातौँ मिनेटमै विङ्गर यान डियोमान्डेको पासमा पेपेले गोल गर्दै कोटे डी आइभोरीलाई सुरुवाती अग्रता दिलाएका थिए। यो गोल कोटे डी आइभोरीको विश्वकप इतिहासकै सबैभन्दा चाँडो भएको गोल हो।
दोस्रो हाफमा पेपेले इब्राहिम साङ्गारेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
यो जितसँगै कोटे डी आइभोरी समूह 'ई' को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।
अब उसले जुन ३० मा डलासमा समूह ‘आई’को उपविजेतासँग सामना गर्नेछ। पहिलो पटक विश्वकप खेलेको कुरासाओको यात्रा भने समूह चरणमै समाप्त भएको छ।
इक्वेडरद्वारा जर्मनी पराजित
न्युयोर्क न्युजर्सी स्टेडियममा भएको अर्को खेलमा इक्वेडरले सुरुवाती अग्रता उल्टाउँदै जर्मनीमाथि २-१ को रोमाञ्चक जित निकाल्यो।
खेलको नवौँ मिनेटमा लेरोय सानेले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए। फ्लोरियान विर्ट्जको प्रहारमा सानेले गरेको यो गोल सन् १९३४ यता जर्मनीका लागि विश्वकपमा भएको सबैभन्दा चाँडो गोल हो।
तर, त्यसको सात मिनेटपछि नै निल्सन एंगुलोले इक्वेडरका लागि बराबरी गोल फर्काए। दोस्रो हाफमा जर्मनीले पेनाल्टीको अवसर पाए पनि भीएआरको निर्णयका कारण त्यो उल्टिएको थियो।
खेलको अन्तिम समयतिर गोन्जालो प्लाटाले गोल गर्दै इक्वेडरलाई महत्वपूर्ण जित दिलाए।
यस जितसँगै ४ अंक जोडेको इक्वेडर उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। पराजय भोग्नु परे पनि जर्मनी ६ अंक र उत्कृष्ट गोल अन्तरका आधारमा समूह विजेता बन्दै अघिल्लो चरणमा पुगेको छ।
असार १२, २०८३ शुक्रबार ०७:०४:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।